नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री तथा काङ्ग्रेस नेता मनमोहन सिंहको बिहीबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ ।
लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका सिंह ९२ वर्षका थिए । उनको निधनले भारतले एक असल नेता र अर्थशास्त्री गुमाएको छ ।
सिंहको स्वास्थ्य सन् २०२४ को सुरुदेखि नै गम्भीर रहेको थियो । जनवरी २०२४ मा छोरीको पुस्तक विमोचनमा उनको अन्तिम सार्वजनिक उपस्थिति देखिएको थियो ।
अप्रिल २०२४ मा राज्यसभाबाट सेवानिवृत्त भएका उनी हालका वर्षहरूमा स्वास्थ्यकै कारण सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।
सिंह सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए । उनी पिभी नरसिंहा राव सरकारमा अर्थमन्त्री रहँदा सन् १९९१ मा भारतलाई आर्थिक उदारीकरणको युगमा पुर्याउन मुख्य भूमिका खेलेका थिए ।
सिंहको नेतृत्वमा भारतले दशकौँसम्मको आणविक अलगावको अन्त्य गर्दै ऐतिहासिक भारत-अमेरिका असैन्य परमाणु सम्झौता गरेको थियो । तर, उनका कार्यकालहरू विवादरहित रहेनन् ।
भ्रष्टाचार र घोटालाका केही मुद्दाले उनको छविमा असर पुर्याएको भए पनि उनी इमानदार र समर्पित व्यक्तित्वको रूपमा स्मरणीय छन् ।
मनमोहन सिंहले पञ्जाब विश्वविद्यालय र दिल्ली स्कुल अफ इकोनोमिक्समा प्राध्यापकको रूपमा आफ्नो करियर सुरु गरेका थिए । अर्थशास्त्रमा उनी विश्वभर प्रसिद्ध थिए ।
भारतीय रिजर्भ बैंकका गभर्नरदेखि योजना आयोगका उपाध्यक्षसम्म, सिंहले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै भारतको आर्थिक र प्रशासनिक जग बलियो बनाए ।
सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा ब्रिटिस भारतको पञ्जाब प्रान्तको गह गाउँमा भएको थियो, जुन अहिले पाकिस्तानमा पर्छ ।
भारत-पाकिस्तान विभाजनपछि उनको परिवार भारत सरेको थियो । उनले पञ्जाब विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री हासिल गरे ।