मार्ने धम्कीमा सलमान खानको जवाफ– जति उमेर लेखिएको छ, त्यति पाइने हो


बलिउड अभिनेता सलमान खानलाई बेलाबेला हत्याको धम्की आइरहन्छ । त्यसो त यसबीच उनीविरुद्ध आक्रमणका प्रयास पनि नभएका होइनन् ।

गत वर्ष बान्द्रास्थित सलमानको घरमा गोली हानिएको थियो । यसैबीच उनले आफूलाई आइरहने हत्याको धम्कीबारे पहिलोपटक सञ्चारमाध्यमसामु बोलेका छन्। जुन निकै भावुक सुनिएको छ ।

हालै आफ्नो फिल्म ‘सिकन्दर’को प्रचारका क्रममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनलाई आउने ज्यान मार्ने धम्कीबारे प्रश्न गरिएको थियो ।

जवाफमा सलमानले भनेका छन्, ‘भगवान्, अल्लाह, सबै कुरा उनमै निर्भर छ । जति उमेर लेखिएको छ, त्यति पाइने हो । बस कुरा यही हो…।’

सलमान खानलाई लामो समयदेखि लरेन्स ग्याङबाट ज्यान मार्ने धम्की आइरहेको छ ।

गत वर्ष अप्रिल १४ मा बान्द्रामा सलमानको घरबाहिर भएको गोली प्रहारको जिम्मा पनि लरेन्स ग्याङले नै लिएको छ । यसपछि पनि सलमालाई धेरैपटक धम्की आयो। त्यसपछि उनको सुरक्षा बढाइएको थियो ।

सलमानका नजिकका साथी तथा एनसीपी नेता बाबा सिद्दीकीको हत्यापछि उनको सुरक्षा कडा पारिएको थियो । धम्कीका बीचमै उनले फिल्म ‘सिकन्दर’ छायांकन गरेका थिए  ।

सेटमा पनि उनको सुरक्षा बढाइएको थियो र बाहिरी व्यक्तिलाई आउन प्रतिबन्ध लगाइएको थियो । फिल्म सिकन्दर यही मार्च ३० मा रिलिज हुँदै छ।

एआर मुरुगादोसले निर्देशित फिल्ममा सलमान र रश्मिका मन्दाना मुख्य भूमिकामा छन् ।

प्रकाशित : २०८१ चैत्र १४, बिहीबार १५:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ