जहाँ बच्चा जन्माउनु र मृत्युलाई मानिन्छ अवैध


संसारका विभिन्न भागमा आफ्नै-आफ्नै नीति नियम छन् । जसले त्यहाँका नागरिकलाई नियमभित्र बाँधेर राख्छ ।

आज हामी तपाईंलाई त्यस्तै एउटा ठाउँको बारेमा बताउनेछौँ, जो देख्नमा स्वर्ग जस्तै छ तर यहाँको नियम कानुनहरू यस्ता छन्, जसले बस्न योग्य वातावरण दिँदैन ।

नर्वेमा रहेको स्वालबार्ड नामको यो द्वीपमा पर्ने लोन्ग्येरबेयेन आर्कटिक महासागरको क्षेत्रमा पर्छ । यस स्थानमा मानिसहरूको मृत्युलाई कानुनको विपरीत मानिन्छ ।

सरल भाषामा भन्नुपर्दा यहाँ मर्नु अवैध मानिन्छ । यो असामान्य नीतिको पछाडि एक महत्त्वपूर्ण कारण छ । यसलाई बुझ्न हामीले लोन्ग्येरबेयेनको बारेमा थाहा पाउनुपर्छ ।

लोन्ग्येरबेयेन पृथ्वीका सबैभन्दा चिसा ठाउँमध्ये एक हो । यहाँको सबैभन्दा चिसो दिनको तापक्रम माइनस ४६.३ डिग्री सेल्सियस थियो । सबैभन्दा गर्मी मौसममा पनि यहाँको तापक्रम ३ देखि ७ डिग्री सेल्सियसको बीचमा मात्र हुन्छ । यो नै आर्कटिक जलवायु हो ।

यहाँको जलवायुको कारणले गर्दा नै बच्चा जन्माउनु र मर्नु अवैध मानिएको हो । यो ठाउँ निकै चिसो भएकोले यहाँ मृत शरीरलाई गाड्नको लागि जमिन खोज्नु नै कठिन हुन्छ र गाडिएका शवहरू कहिल्यै कुहिन नसक्नु यहाँको अर्को समस्या हो ।

वैज्ञानिकहरूको अनुसार शताब्दीयौँदेखिका भाइरस र ब्याक्टेरियाहरू शवमा सुरक्षित अवस्थामा रहन्छन् । यदि कोही रोगबाट मर्छ भने, उसको शरीर भएको भाइरस र ब्याक्टेरियाहरू जीवित अवस्थामा नै रहन्छन् । जब पर्माफ्रस्ट पग्लिन्छ, तब यी गाडिएका शवहरूबाट हानिकारक भाइरस र ब्याक्टेरियाहरू वातावरणमा फैलिनसक्ने डर हुन्छ ।

पर्माफ्रस्ट भन्नाले पृथ्वीको सतहभन्दा माथि वा पृथ्वीको सतहमा भन्दा तल जमेको एक तह हो । जुन प्रायः अति चिसो तापक्रम भएका क्षेत्रहरूमा हुने गर्दछ । यस तहमा रहेका जीवाणु, ब्याक्टेरिया र अन्य जैविक पदार्थहरूलाई पर्माफ्रस्टले शताब्दीयौँसम्म संरक्षण गर्न सक्छ । जब पर्माफ्रस्ट पग्लिन्छ, यससँगै जमेको माटो, पुराना भाइरस र ब्याक्टेरिया पनि वातावरणमा फैलिन्छन् ।

यसैको डरले सन् १९५० मा नर्वे सरकारद्वारा एउटा नीति बनाइएको थियो, जसले नगर सीमाभित्र मृत्यु हुनु र दाहसंस्कार गर्नु अवैध बनायो । यस स्थानमा भएको ठूला ठूला चिहानहरू पनि बन्द गरिएका थिए । तर, जहाँ जीवन छ, त्यहाँ मृत्यु पनि छ । लोन्ग्येरबेयेनका मानिसहरूको मृत्युपछि उनीहरूको शवलाई २००० किलोमिटरभन्दा बढी टाढा अर्को सहरमा पठाइन्छ ।

यहाँ मृत्युमा मात्र निषेध छैन, जन्ममा पनि निषेध छ । गर्भवती महिलाहरूलाई सहरमै बच्चा जन्माउन अनुमति छैन किनभने त्यहाँ प्रसूति सेवाका लागि उचित चिकित्सा सुविधाहरू छैनन् । गर्भवती महिलाहरूलाई प्रसवको मिति भन्दा एक महिना अघि नै सहर छोड्न सल्लाह दिइन्छ ।

यस स्थानमा जम्मा २,५०० मानिसहरू बस्छन् । रोचक कुरा के छ भने यहाँ ध्रुवीय भालुहरूको सङ्ख्या मानिसहरू भन्दा बढी छ । यहाँ ३,००० ध्रुवीय भालुहरू बस्छन्, त्यसैले मानिसहरू बाहिर निस्कँदा हातमा बन्दुक लिएर हिँड्छन् ।

स्नोमोबाइल र ड्रोनलाई यस ठाउँमा प्रतिबन्ध लगाइएको छ र बिरालोहरू सङ्क्रमण फैलाउन सक्ने डरले प्रतिबन्ध लगाइएको छ । हामीलाई यो बाहिरबाट हेर्दा विचित्र लाग्न सक्छ । तर त्यहाँको लागि यो नै सबैभन्दा राम्रो विकल्प हो ।

प्रकाशित : २०८१ चैत्र २४, आईतवार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ