गोवाको हिन्दु मन्दिरमा भागदौड- ६ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते


सिरहा । भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दु मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् ।

घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् । शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो संख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए । सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे । त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले एक विज्ञप्ति जारी गर्दै शिरगाओ गाउँको लैराई देवी मन्दिरमा शनिबार बिहान भएको भागदौडले आफूलाई निकै दुःखी बनाएको बताएका छन् । गोवाराज्यका स्वास्थ्यमन्त्री विश्वजित रानेका अनुसार घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

उनले भने, ‘पाँच जनाको अवस्था गम्भीर र भेन्टिलेटरमा राखिएको छ भने बाँकीको विशेष आपतकालीन कक्षमा उपचार भइरहेको छ ।’

लैराई जात्रा गोवामा एक प्रमुख हिन्दू उत्सव हो र यो आगोमा पैदल हिँड्ने समारोहका रूपमा चिनिन्छ ।भारतीय धार्मिक चाडहरूमा भागदौड मच्चिँदा घातक दुर्घटनाहरू हुने गरेका छन् ।

यस वर्षको सुरुमा उत्तरी शहर प्रयागराजमा कुम्भ मेलामा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । रासस/एएनआई

प्रकाशित : २०८२ बैशाख २०, शनिबार १५:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ