चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो : नेपाल-भारत सीमामा नजानू, तस्बिर पनि नखिच्नू


काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल-भारत सीमा क्षेत्रमा नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

पर्साको वीरगन्ज नाका हुँदै रक्सौल छिरेका चार चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासले एडभाइजरी जारी गरेको हो । एडभाइजरीमा नेपाल-भारत सीमा क्षेत्रमा नजान दूतावासले आफ्ना नागरिकलाई सचेत गराएको हो ।

अन्नपूर्णपोस्ट्ले बिहीबार आफ्नो अनलाइन संस्करणमा वीरगन्जबाट भारत छिरेका चार चिनियाँ नागरिक पक्राउ गरेको समाचार प्रकाशित गरेको थियो । त्यसको भोलिपल्टै दूतावासले भारत-पाकिस्तान तनावका कारण नेपाल-भारत सीमामा सुरक्षा जाँच कडा बनाइएकाले गल्तीले पनि त्यस क्षेत्रमा नजान आग्रह गरेको हो ।

सीमा क्षेत्रमा गएर अनावश्यक तस्बिर नखिच्न पनि दूतावासले आग्रह गरेको छ। ‘नेपाल र भारतको अध्यागमन र सीमा कानुन कडाईका साथ पालना गर्नुहोस्। अनावश्यक तस्बिर नखिच्नुहोस्,’ दूतावासले भनेको छ ।

नेपाली र भारतीय नागरिकहरू खुला सीमाका कारण बिना भिसा एकअर्काको मुलुकमा सहजै आवात जावत गर्नसक्ने तर चीनलगायत तेस्रो मुलुकका नागरिकहरूलाई त्यो सुविधा नभएको समेत चिनियाँ दूतावासले भनेको छ । चिनियाँ दूतावासले स्थानीय टुरिस्ट गाइडको समेत भरोसा नगर्न आग्रह गरेको छ ।

भारत अवैध आप्रवासीहरूप्रति कठोर रहेको र सजायसमेत हुने भएकाले सचेत रहन आफ्ना नागरिकलाई दूतावासले आग्रह गरेको छ ।

अवैधरूपमा भारत प्रवेश गरे २ देखि ८ वर्षसम्म सजाय हुनसक्ने समेत दूतावासले आफ्ना नागरिकलाई सचेत गराएको हो। भारत जान इच्छुकहरूले नेपालबाटै भिसा आवेदन दिनसक्ने दूतावासले बताएको छ ।

प्रकाशित : २०८२ बैशाख २६, शुक्रबार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ