काठमाडौं : भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा रोकिएको २१ हजार ५ सय मेट्रिकटन युरिया मल समयमै नेपाल आउन नसक्दा अहिले मुलुकमा युरिया मलको चरम अभाव देखिएको छ ।
साउनदेखि भदौसम्मको १ महीनाको अवधिमा करीब ४० हजार मेट्रिकटन युरिया मलको आवश्यक पर्ने भए पनि हाल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग १ हजार ६० मेट्रिकटन मात्रै युरिया मौज्दात छ । त्यस्तै, डीएपी १२ हजार ८ सय र पोटास २ हजार ५ सय मेट्रिकटन मौज्दात छ ।
धान रोपाइँ लगभग सकिएसँगै यस समयमा किसानलाई डीएपीभन्दा पनि युरिया मलको बढी आवश्यक पर्छ । तर, कान्डला बन्दरगाहमा रोकिएको २१ हजार ५ सय मेट्रिक टन युरिया मल पनि नेपालसम्म आइपुग्न अझै महीना दिनजति लाग्न सक्ने साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पंकज जोशी बताउँछन् ।
अहिले देशका अधिकांश जिल्लामा धान रोपाइँ सकिइसकेको छ । तर, धान रोपाइँ सकिएपछि युरिया मल हाल्नुपर्नेमा त्यसको अभाव चुलिएपछि कृषक चिन्तित भएको राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए ।
कृषकलाई आवश्यक परेको समयमै मल उपलब्ध गराउन सरकार असफल भएको उनको भनाइ छ । ‘निरन्तर रूपमा रासायनिक मलको प्रयोग गरेको माटोमा मल प्रयोग गर्न पाइएन भने यसले उत्पादनमा समेत असर पार्न सक्छ,’ उनले भने ।
साल्ट ट्रेडिङले बन्दाबन्दीअघि नै दुबईस्थित मल्टी कमोडिटिज कम्पनीमार्पmत ओमानबाट किनेको युरिया मल बन्दाबन्दीकै कारण गुजरातको कान्डलामा आएपछि अलपत्र परेको थियो ।
नेपाल र भारतको वाणिज्य सन्धिअनुसार कान्डला बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि खुला नभएका कारण करीब ४ महीनादेखि नेपालका लागि ल्याइएको युरिया कान्डलामै रोकिएको थियो ।
परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत पटकपटक भारतसँग कूटनीतिक पहल गर्दासमेत भारतले त्यहाँबाट मल ल्याउन नेपाललाई स्वीकृति दिएन । त्यसपछि सरकारले कोलकाता हुँदै नेपाल ल्याउने तयारी थाल्यो ।
कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीमार्फत चीन र रसियाबाट थप ५० हजार मेट्रिकटन युरिया मल ल्याउने तयारी गरेको छ । तर, यो मल पनि समयमै नेपालमा आउन नसक्ने देखिएको छ । अहिले सिपिङको क्रममा रहेको यो मल कोलकातासम्म आइपुग्न करीब २० दिन लाग्ने बताइएको छ । कोलकातामा केही समय जहाज क्वारेन्टाइनमा रहेपछि मात्र नेपाल ल्याउन मलको प्याकिङको काम शुरू हुने भएकाले तत्काल नेपाल भित्रिने सम्भावना नरहेको तथा त्यसका कारण मल अभाव झनै चुलिने कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलले अभियानलाई बताए ।
अर्कोतिर, साल्ट ट्रेडिङ तथा कृषि सामग्री कम्पनी लिमिटेडको कोलकातामा रोकिएर रहेको २५ हजार मेट्रिक टन डीएपीमध्ये हालसम्म १५ हजार मेट्रिक टन नेपाल भित्रिसकेको छ भने ५ हजार मेट्रिक टन लोडिङ हुने क्रममा छ । बाँकी ५ हजार मेट्रिकटन मल आउन अझै लोड हुन नसकेको कृषि मन्त्रालयले जानकारी दिएको छ ।