सिबेन्द्र रोहिता/ जनकपुरधाम : प्रदेश २ का सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धनुषामा दुई उत्कृष्ट प्रदेश स्तरीय आइसोलेसन सेन्टर संचालन गरिरहेको छ ।
नगराइन नगरपालिका ५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवन र लक्ष्मिनिया गाउँपालिका ४ सपहीस्थित विपी मेमोरियल पोलिटेक्निकल इन्टिच्यूटको भवनमा नमूना आइसोलेसन सेन्टर संचालनमा रहेको छ । यि दुवै ठाउँमा क्वारेन्टाइन संचालन गरिएको थियो । तर संक्रमितको संख्या बढेपछि आइसोलेसनमा परिनत गरिएको छ ।
गंगुली आइसोलेसनमा अहिले २७ जना कोरोना संक्रमित उपचाररत छन् । हालसम्म कुल १३५ संक्रमित भर्ना भएका थिए । जसमध्ये १ सय ८ जना उपचारपछि घर फर्किसकेका छन् । कोरोनालाई जितेर घर फर्केकाहरु आइसोलेसन व्यवस्थापनको प्रसंसा गरेका छन् ।
बुधवार यहाँबाट डिस्जार्च भएका एक ४० वर्षीय पुरुषले भने, ‘यहाँ १४ दिन बस्दा एकपटक पनि गुनासो गर्नुपरेन । खाना, चिया र नास्ता समयमा दिन्छन् । के कस्तो अवस्था छ भनेर डाक्टरहरुले पटक पटक सोध्ने गर्छन् । यस्तो सुविधा सम्पन्न आइसोलेसन संचालन गरेका सामाजिक विकास मन्त्रालय र व्यवस्थापन गरिरहेका नेपाली सेनालाई ह्दयदेखि धन्यवाद दिन चाहन्छु ।’
यहाँ बसेका कोरोना संक्रमितहरुलाई विहान साढे ७ देखि ८ बजेभित्र अण्डा, चना, दुध र विस्कुट दिन्छन् । विहान ११ देखि साढे ११ बजेभित्र खाना खुवाउँछन् । यस्तै अढाई बजेदेखि ३ बजेको बीचमा फेरी चिया र विस्कुट खुवाइन्छ र साँझ ७ देखि साढे ८ बजेभित्रै डिनर गराइन्छ । खाना, खाजा र चिया पकाउनेदेखि खुवाउनेसम्मको काम नेपाली सेनाले गर्छन् ।
आइसोलेसनमा २४ सैं घण्टा चिकित्सकको टोली बस्छन् । कुनै विरामीलाई समस्या भयो भने तुरुन्त चिकित्सकले समाधान गर्ने गरेका छन् । आइसोलेसन संयोजक सन्तोष कुमार ठाकुर भन्छन्, ‘यहाँ अहिलेसम्म उपचार पश्चात निको भएका विरामीमा ठुलो समस्या नै देखा परेन । हालसम्म १०८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये कसैले पनि कुनै गुनासो गरेका छैन ।’
गंगुलीको आइसोलेसन सेन्टरमा पनि कोरोना संक्रमितलाई सपही जस्तै सेवा सुविधा उपलब्ध गराउदै आएको छ । गंगली आइसोलेसनमा अहिले ३१ कोरोना संक्रमित उपचाररत छन् । यहाँ पनि सामाजिक विकास मन्त्रालयको सहयोगमा सेनाले खानाको व्यवस्थापन गर्छन् । अन्य हरेक थोक मन्त्रालयले उपलब्ध गराउँछ ।
विभिन्न ठाउँको आइसोलेसनमा थुप्रै बेथिति रहेको, खानपिन तथा बसोबासमा समेत व्यापक समस्या रहेको तथा कमी कमजोरी रहेको भनेर गुनासाहरू बहिर सार्वजनिक भइरहेको बेलामा यि दुई आइसोलेसनको व्यवस्थापन भने धेरै नै राम्रो रहेको अनुगमन गरेको विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बताउँछन् । ‘डब्लुएचओ’को टोलीले अनुगमन गर्न आएका बेला यि दुबै आइसोलेसन सेन्टर एसियाकै उत्कृष्ट रहेको भनेर प्रसंसा गर्यो– संयोजक ठाकुरले सुनाए ।
सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना संक्रमितको उपचार, बसाई र खानपिन लगायतमा कुनै समस्या हुन नदिने बताए । उनले प्रदेशमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण मास्क र सेनिटाइजरको प्रयोग गर्न, भिडभाड नगर्न/नगराउन तथा सामाजिक दुरी कायम गर्न प्रदेशबासीसँग अनुरोध समेत गरेका छन् ।