जनकपुरधाम : भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास तथा भुमिपुजन गर्ने दिन जनकपुरमा दिपावली मनाउन जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले नगरबासीसँग अपिल गरेका छन् ।
आज पत्रकारहरुसँग कुरा गर्दै महन्थ दासले साउन २१ गते जनकपुरमा हर्षोल्लास पूर्वक दिपावली मनाउन नगरबासीसँग अपिल गरेका हुन् । उनले राम मन्दिर शिलान्यस र भुमिपुजनमा सहभागी हुने चाहना रहेपनि लकडाउनका कारण जान नपाउने बताएका छन् ।
उनले अगस्त ५ तारिख अर्थात साउन २१ गते विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिलान्यास कार्यक्रम तय गरिएकाले सो बेला किर्तन गर्न समेत सबैसँग अनुरोध गरे । उनले राम मन्दिर शिलान्यास तथा भुमिपुजनको अवसरमा अवधबासीलाई शुभकामना समेत दिए ।
महन्थ दासले राम मन्दिर निर्माणमा मिथिलाको तर्फबाट केहि भएपनि सहयोग गर्ने इच्छा तत्काल पुरा नभएपनि लकडाउन खुलेर अवस्था सामान्य भएपछि त्यहाँ पुगेर सहयोग गर्ने बताएका छन् ।
अयोध्यामा बन्न लागेको राम मन्दिरको शिलान्यस तथा भुमिपुजनमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने कार्यक्रम रहेको छ ।