काठमाडौं : सुन्धाराबाट बरामद साढे १४ किलो चाँदी र आधा किलो सुन तस्करीको घटनामा प्रहरीले नक्कली भारतीय रुपैयाँ कारोबारमा जेलमा रहेका युनुस अन्सारीको ‘कनेक्सन’ खोज्न थालेको छ ।
तस्करीमा संलग्न मुख्य अभियुक्त युनुसकै पूर्व साझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानमा उनको ‘कनेक्सन’ खोज्न थालेको हो । यद्यपि, घटनामा कमिसन पाउने चक्करमा प्रहरी अधिकारीबाटै समेत त्रुटि भएको पाइएको छ ।
तस्करीमा संलग्न मुख्य अभियुक्त पर्साका इल्ताफ हुसेन अन्सारी युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानको एउटा पाटो युनुसतिर मोडेको छ । इल्ताफ नक्कली भारतीय रुपैयाँ तस्करीमा यसअघि जेल सजाय भुक्तान गरेका व्यक्ति हुन् ।
प्रहरीका अनुसार युनुस र इल्ताफले संयुक्त रूपमा नक्कली भरतीय रुपैयाँको कारोबार गर्थे । युनुसकै छत्रछायाँमा इल्ताफ नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको प्रहरीको दाबी छ ।
यसैलाई आधार मानेर प्रहरीले १४ किलो चाँदी र आधा किलो सुन तस्करीमा युनुसको संलग्नता खोज्न थालेको हो । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अनुसन्धान विभिन्न कोणबाट हुन्छ र एउटा कोण युनुसतर्फ केन्द्रित भएको साँचो हो ।
तथ्य के आउला पछिको कुरा हो । इल्ताफ र युनुस नक्कली भारतीय रुपैयाँको कारोबारमा विगतमा सँगै संलग्न भएको घटना स्थापित नै छ । त्यसो हुँदा अहिले पनि यी दुईबीच सम्बन्ध हुन सक्ने हाम्रो अनुमान छ । त्यसैले अनुसन्धान गरिनु स्वाभाविक हो ।’
नक्कली भारतीय रुपैयाँ कारोबारमा पटक–पटक पक्राउ परेका युनुस अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । मंगलबार सुन्धाराबाट एकाएक गायब भएको स्कार्पियो अन्सारीकै निवासस्थल नख्खिपोट क्षेत्रमा भेटिएका कारण पनि घटनामा दुईबीच सम्बन्ध हुन सक्ने प्रहरीको अनुमान छ ।
अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि अनुसन्धान युनुससँग केन्द्रित रहेको संकेत गरे । उनले भने, ‘घटना गम्भीर छ । गम्भीर ढंगले अनुसन्धान हुनु स्वाभाविक हो । यस्ता घटनामा विगतका दिनमा अपराधमा संलग्न अनुसन्धानको घेरामा पर्नु स्वाभाविक हो । सत्य–तथ्य अनुसन्धानपछि खुल्ने विषय हुन् ।’
५७ लाख खर्चेर चाँदीमा जलप
प्रहरीले बरामद गरेको साढे १४ किलो चाँदीमा ५७ लाख रुपैयाँ खर्चेर सुनको जलप लगाइएको खुलेको छ । जलप लगाउने कार्यमा संलग्न मनीष मल्लिक पक्राउ परेलगत्तै यो तथ्य खुलेको हो । उनी बिहीबार पक्राउ परेका थिए । पक्राउ लगत्तै लिइएको बयानमा उनले बरामद चाँदीमा ५७ लाख रुपैयाँ मूल्यबराबरको सुनको जलप लगाई दिएको स्वीकार गरेका छन् । उनी सुनचाँदीको गरगहना बनाउने कालिगढ हुन् ।
न्युरोडको सुनपसलमा कार्यरत उनको कौशल पटेलसँग चिनजान थियो । पटेलकै निर्देशनपछि उनले चाँदीमा सुनको जलप लगाइदिएका थिए । कौशलको लाजिम्पाटमा जेम एन्ड ज्वेलरी नामको सुनपसल छ । लामो समयदेखि लाजिम्पाट क्षेत्रमा कार्यरत प्रहरी जवान बहादुरसिंह कठायतसँग उनको त्यहीँ चिनजान भएको थियो ।
घाटा उठाउन सुराकी, कमिसनका चक्करमा डिएसपी पनि
अनुसन्धानमा कमिसन पाउने चक्करमा प्रहरी अधिकारीबाट केही त्रुटि भएको पाइएको छ । घटनाको अनुसन्धानमा संलग्न काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवालीले भने, ‘घटनालगत्तै अनुसन्धान भयो । रिपोर्टिङ भए जस्तो घटना अनुसन्धानपछि देखिएन । बुझ्दै जाँदा तस्करसँग प्रहरी जवान मिलेको देखियो ।
उनीहरूले डिएसपीलाई गलत रिपोर्टिङ गरे । तर, डिएसपीले त्यसलाई बुझ्न सकेनन् । सुन पक्राउपछि आउने वैध कमिसन पाउने लोभमा पनि उनी कहीँ–कतै परेजस्तो देखिन्छ । अर्को जस पाउने चाहनाबाट पनि प्रेरित भएको देखिन्छ । त्यसैले उनले माथि रिपोर्टिङ ढिलो गरे । त्यसो हुँदा घटना रहस्यमय बन्न पुग्यो ।’
सुनको कारोबारमा संलग्न कौशल पटेल व्यवसाय उकास्न चाहन्थे । सुन तस्करमा संलग्न पर्साका इल्ताफ हुसेन अन्सारीसँग उनको कारोबारकै क्रममा चिनजान थियो । यही क्रममा उनले हुसेनबाट साढे १४ केजी चाँदीमा सुनको जलप लगाउने जिम्मा पाए । उनले चाँदीमा जलप लगाउन भने न्युरोडको सुन पसलमा कार्यरत मनीषलाई दिए । चाँदीमा सुनको जलप लगाउन मात्रै ५७ लाख रुपैयाँ खर्च भएको उनलाई थाहा थियो ।
अनुसन्धानमा सहभागी एक अधिकारीले सुनाए, ‘जलप लगाइएको साढे १४ केजी चाँदीमा आधा किलो सुनको टुक्रा मिसाई तस्कर गर्ने योजना इल्ताफको थियो । योजनामा उनी पनि सामेल थिए । सोही क्रममा स्थानीय प्रहरीलाई मिलाउने जिम्मा उनले पाएका थिए ।
यसबापत उनले कमिसन पाउने पक्का थियो । तर, काम सजिलो थिएन । उनले तस्कर गर्न लागिएको सुन, सुनको जलप र चाँदीको मूल्य हिसाब गरेर जोडे । हिसाब एक करोड रुपैयाँभन्दा धेरै निस्कियो । अब घटनाको सुराक प्रहरीलाई दिँदा वैध रूपमा आउने सुराक भत्ताको उनले हिसाब गरे । फाइदा रामै्र हुने देखे ।’
ती अधिकारीका अनुसार अब उनको दिमागमा दुईवटा योजना फुर्यो । पहिलो योजना सफल भए इल्ताफबाट कमिसन लिने, विफल भए वैध रूपमा पाउने सुराक भत्ता लिने । तीर जुन चल्दा पनि सिकार मार्ने मनसायबाट प्रेरित उनले आफ्नो योजना नियमित सम्पर्कमा रहेका प्रहरी जवान बहादुरसिंह कठायतलाई भने ।
कठायतले योजना अर्का प्रहरी जवान प्रसन्न श्रेष्ठलाई भने । फाइदा हुने भएपछि कौशलको योजनामा दुवै सहजै सामेल भए । घटनमा भाइ देवान पटेललाई पनि सहभागी गराए । अनि उनी तस्करका मुख्य योजनाकार इल्ताफ र प्रहरी जवान कठायत दुवैसँग दोहोरो सम्पर्कमा बसे ।
ती अधिकारी थप्छन्, ‘योजनाअनुसार नै जवान कठायतले प्रहरी ‘मुभमेन्ट’को सबै योजना कौशललाई रिपोर्टिङ गर्थे, कौशलले इल्ताफलाई । यही क्रममा मंगलबार सबेरै सामग्री तस्करीको योजना बन्यो । तर, त्यस दिन प्रहरीको मुभमेन्ट अन्य दिनभन्दा बाक्लो हुने देखियो । तस्करी सफल नहुने जस्तो लागेपछि उनीहरू अब कानुनी रूपमा प्राप्त हुने वैध कमिसन लिने पक्षमा उभिए ।’
– नयां पत्रिकाबाट