जनकपुरधाम : भारतको अयोध्यामा भगवान राम मन्दिरको शिलान्यास हुन लागेको दिन (साउन २१ गते) उत्सव मनाउन विश्व हिन्दु परिषद् नेपालले आह्वान गरेको छ ।
परिषद्का राष्ट्रिय अधयक्ष टिका बहादुर पहारी र महासचिव जितेन्द्र कुमार सिंहले विज्ञप्ती जारी गरेर भारतको अयोध्यामा साउन २१ गते बुधबार राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको अवसरमा उत्सव मनाउन आह्वान गरेका हुन् । भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुन लागेको अवसरमा श्रीराम स्तुति, शोभा यात्रा र दीपोत्सव गर्न विज्ञप्तीमा भनिएको छ ।
‘श्रीराम जन्मभूमि अयोध्यामा अवस्थित श्रीराम मन्दिरलाई सन् १५२८ मा विधर्मी आक्रमणकारीद्वारा तोडिएको थियो’, विज्ञप्तीमा उल्लेख छ, ‘त्यसपछि लगातार ४९२ वर्षको संघर्षको प्रतिफल अयोध्यामा पुनः श्रीराम मन्दिर निर्माण हुनु सम्पूर्ण सनातनी हिन्दुहरुको लागि गौरवपूर्ण क्षण रहेको छ ।’
परिषदले साउन २१ गते बुधवार साँझ आआफ्नो घरमा दीप प्रज्ज्वलन गर्न हिन्दू धर्मावलम्बीहरुमा आह्वान गरेको छ । बुधवारकै दिन दिउँसो ११ बजेदेखि १ बजेसम्म श्रीराम स्तुति (भजन किर्तन) गर्न र सामाजिक दुरी कायम गरी शोभा यात्रा निकाल्न समेत भनिएको छ ।