जनकपुरधाम : भारतको अयोध्यामा निर्माण हुन लागेको राममन्दिरको भूमि पुजनको लागि अयोध्या निस्केका जानकी मन्दिरका महन्थलाई बाटो बाटै फर्काइएको छ ।
कोरोना संक्रमणको समयमा हुन लागेको भूमि पूजन कार्यक्रममा सीमित व्यक्तिलाई आमन्त्रित गरिएकोमा जानकी मन्दिरका महन्थलाई समेत आमन्त्रित गरिएको थियो । अयोध्याका लागि आमन्त्रित महन्थ रामतपेश्वर दास भारत जान खोज्दा महोत्तरीको भिठामोड नाकाबाट नै फर्काइएको देशसञ्चारले जनाएको छ ।
नाकाबाट आवतजावत गर्न प्रतिबन्ध रहेको भन्दै सुरक्षाकर्मीले अनुमति नदिएपछि अयोध्यामा साउन २१ गते राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुनबाट महन्थ दास बंचित भएका छन् ।
जानकी मन्दिरका महन्थ दासले शिलान्यास कार्यक्रममा जनकपुरधामको प्रतिनिधित्व गर्न अयोध्याका लागि हिँडे पनि प्रहरीले नाकाबाट जान अनुमति नदिएको जानकारी दिए । भारतीय सीमा सुरक्षा बलसँग कुरा गर्दा उनीहरूले अस्पतालको पिसिआर रिपोर्ट देखाएमात्र जान दिन भनेको महन्थ दासले बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अफुले यताबाट जानकी मन्दिरका महन्थलाई पास दिएपनि भारतीय पक्षबाट उनलाई जान नदिएको बताए ।