सप्तरी : सप्तरी कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका–५ का ४५ वर्षीय, डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको भएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रञ्जित झाले जानकारी दिए । जसमध्ये ४५ वर्षीय व्यक्तिको परिवारले अन्तिम संस्कार गर्न लागेको बेला जिल्ला स्वास्थ्य कार्यालयले रोक लगाएको छ ।
असारको पहिलो साता मलेसियाबाट आएका रुपनी ५ गढियाका एक व्यक्ति होम क्वारेनटाइनमा बसेका थिए । ती व्यक्तिलाई पीसीआर परीक्षण लागि बोलाउँदा परिवारले उनी राजविराज गएको र उतै गराउने भन्दै पन्छिने गरेको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।
एक साता देखि ज्वरो आएको थियो अधिक ज्वरो बढेपछि मङ्गलवार गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर, अस्पताल परिसरमा पुग्ने बित्तिकै उनको मृत्यु भएको र परिवारले बुधवार बिहान शव गाउँ ल्याएर अन्तिम संस्कार गर्न लाग्दा गाउँपालिकाले रोकेको अध्यक्ष यादवले जानकारी दिए ।
त्यसैगरी राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मङ्गलवार राति मृत्यु भएका दुई जनाको पनि स्वाब संकलन गरिँदै छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलनपछि मात्र शव अन्तिम संस्कार गर्न दिइने जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले बताए । ‘स्वाब संकलनका लागि स्वास्थ्यकर्मी खटाइसकिएको छ,’ उनले भने ।
जिल्ला स्वास्थ्य प्रमुख यादवले दुवै जनामा शंकास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोकी स्वाब संकलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।