सिबेन्द्र रोहिता/ जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरकी कोरोना संक्रमित नर्सहरुको विचल्ली भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि झन मनोबल उच्च पार्नुको सट्टा अस्पतालका डा. जामुन सिंहले लाइसेन्स खारेज गरिदिने धम्की दिएपछि उनीहरु तनाबमा परेकी हुन् ।
सोमवार कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालका दुई डाक्टर र सात नर्ससहित १८ जनालाई डा. सिंहले दबाब दिएर नर्सिङ कलेजको आइसोलेसनमा भर्ना गरिएको छ । तर उनीहरु उक्त आइसोलसन अव्यवस्थित रहेको भन्दै बस्न अस्वीकार गरेका छन् । व्यवस्थित आइसोलेसनमा राख्न उनीहरुको माग छ ।
अहिले राखिएको आइसोलसन सफा छैन । झ्याल समेत खुल्दैन । विजुली नरहेका बेला आइसोलेसन कक्षमा सास फेर्न पनि गाहे भइरहेको नर्सहरुहरुको भनाई छ । साथै लक्षण देखिएका अन्य संक्रमितसँगै राख्दा झन समस्यामा पर्ने उनीहरु बताउँछन् ।
यो पनि पढ्नुहोस् –
‘यहाँ कोरोनाको लक्षण देखिएका अन्य संक्रमितलाई राखिएको छ’, एक नर्सले भनिन्, ‘तर हामी कसैमा लक्षण देखा परेका छैन । तर उनीहरुसँगै राख्दा समस्या हुन्छ । त्यसैले अर्को व्यवस्थित आइसोलेसनमा राख्नुपर्ने हाम्रो माग छ ।’
आइसोलेसनमा छुट्टै राख्न भनेपछि डा. सिंहले लाइसेन्स खारेज गरिदिने र जागिर खाइदिने धम्की दिएको नर्सहरुको गुनासो छ । एक नर्सले भनिन्, ‘डा. सिंहकै दबाबका कारण बिना सुरक्षा साग्री कोरोना संक्रमितको उपचारमा खटिदा हामी संक्रमित भयौं । अहिले कम्तिमा सहयोग गर्नुपर्ने हो । तर उल्टै जागिर खाइदिने धम्की दिन थालेका छन् ।’
यता, डा. सिंहले कम्तिमा एक दिन उक्त आइसोलेसनमा बस्न भनेपनि नमान्दा धम्की दिएको स्वीकार गरे । उनले भने, ‘होटल कतै पाइरहेको छैन । अर्को ठाउँमा व्यवस्था छैन । कहाँ राख्ने ?’ उनीहरुलाई सम्झाउदा पनि नमानेपछि धम्की दिएको उनको भनाई छ ।