सिरहा : सिरहा नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरेको रकमको कागजात अख्तियारले छानविनका लागि नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको अधिकृत नवराज सुवेदी नेतृत्वको टोलीले कोभिड १९ रोकथाम, नियन्त्रणमा खरिद सम्बन्धी कागजातको प्रतिलिपि छानबिनको लागि नियन्त्रणमा लिएको हो ।
अख्तियार बर्दिबासका प्रमुख मणिराम ज्ञवालीका अनुसार नगरपालिकाले कोरोनामा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि आयोगको टोलीले छानविन थालेको हो । सिरहा नगरपालिकाले जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । उक्त विवरणमा केही सामग्रीको मूल्य बजार भाउ भन्दा अत्याधिक बढी पाइएपछि अख्तियारले चासो लिएकोे हो ।
के केमा खर्च भयो ५ करोड ९० लाख ?
सिरहा नगरपालिकाले मास्क खरिदमा २० लाख २ हजार ९ सय ९७, थर्मगन १५ हजार ७ सय ५३, ग्लब्समा ६ लाख ८८ हजार ८ सय, सेनिटाइजर १४ लाख १ हजार ९७, सावुन १ लाख ७२ हजार १ सय ९५, पीपीई ९ लाख १८ हजार ४ सय ९१, किटनाशक औषधि छर्कने स्प्रे ५ हजार, रेनकोट १ लाख ९३ हजार रुपैयाँको खरिद गरेको देखाएको छ ।
यस्तै, रेनबुट ३ लाख १२ हजार १ सय ५०, डस्ना ४ लाख ५५ हजार ८ सय ५०, बेड २ लाख ५९ हजार ४ सय, झुल सुपानेट ३ लाख ३० हजार, तन्ना ४ लाख ५० हजार ३७७।५, तकिया २ लाख ८ हजार ९ सय ५०, तकिया खोल ३१ हजार ९ सय २७, कम्बल ४ लाख २४ हजार ५ सय ७५, स्प्रीट २ हजार ६ सय रुपैयाँको खर्च विवरण दिएको छ ।
विद्युतिय सामाग्री ६ लाख ५६ हजार ६ सय २५, खानेपानी धारा सामाग्री खरिद २ लाख ५८ हजार ६ सय ५१, फलामे खाट ११ लाख ९४ हजार ६ सय ८५, किटनाशक औषधि छर्किने स्प्रे ठूलो १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चिया ३१ लाख ८३ हजार ५ सय, जोखिम भता ४१ लाख २५ हजार ८३०, लामखुट्टे औषधि खरिद तथा छर्किने कार्य १६ लाख २९ हजार ९३६ र सरसफाई १७ लाख ५० हजार खर्च गरेका छन् ।
यस्तै वडा नम्बर १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोव्स वितरणमा १ करोड ४ लाख ८४ हजार ९ सय १६ खर्च रहेको विवरण सार्वजनि गरेको छ । सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले नियम प्रक्रिया मिलाएर खर्च र भुक्तानी भएको बताए ।
- अन्नपूर्ण पोस्टबाट