काठमाडौं : सरकारले भारतमा रहेका नेपाली स्वदेश फर्कने सीमा नाकाको संख्या घटाएको छ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका भदौ ३१ गतेका लागि बन्द गरेकोमा भारतबाट स्वदेश फर्कने नेपालीका लागि १० वटा नाका तोकेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेशको‘प्रवेश विन्दुसम्बन्धी व्यवस्था’ परिमार्जन गरेको छ ।
यससँगै भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपाली १० वटा सिमा नाकाबाट मात्र प्रवेश पाउनेछन् । यसअघि कोरोना संक्रमणकै बेला प्रवेश नाका २० कायम गरिएको थियो ।
१० नाका यी हुन् :
– काकडभिट्टा (झापा)
– रानी (मोरङ)
– माडर (सिराहा)
– गौर (रौतहट)
– वीरगञ्ज (पर्सा)
– वेलहिया (रूपन्देही)
– कृष्णनगर (कपिलवस्तु)
– जमुनाह (बाँके)
– गौरीफन्टा (कैलाली)
– गड्डाचौकी (कञ्चनपुर)