संजय विश्वकर्मा/ लहान : कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको नाममा लहान नगरपालिकाले व्यापक भ्रष्टाचार गरेको भन्दै समाजसेवी महेश चौधरीले सूचना माग गरेका छन् ।
नेपाली कांग्रेसका राज्य ब्यवस्था समितिका सदस्य समेत रहेका चौधरीले लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम भुसालसँग सूचना माग गरेका हुन् । सूचनाको हक प्रयोग गरी उनले नगरपालिकामा निवेदन दर्ता गराएका छन् ।
महामारीको बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावलीसहित प्रकाशित गर्न, ईन्धन खर्च, क्वारेन्टाइन ब्यवस्थापनका लागि खरिद गरिएको सामग्रीहरुको खरिद मुल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरिद मुल्यसहित सूचना माग गरिएको छ ।
नगरपालिकाले सार्बजनिक गरेको प्रतिबेदन अपुरो रहेको भन्दै कोरोना नियन्त्रण्त तथा रोकथाममा भएको खर्चको सम्पूर्ण विवरण माग गरेको समाजसेवी चौधरीले जानकारी दिए । उनका अनुसार कोरोनाको नाममा नगरपालिकामा ठूलो रकम भ्रष्टाचार भएको छ ।
जिल्ला प्रशासन कार्यालयको दबाबपछि लहान नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा १ करोड ९८ लाख ४ हजार ७८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो ।