जनकपुरधाम : सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उनका छोरा सन्तकुमारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार डिपीआर कामका भुक्तानीका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिँदालिँदै मेयर मण्डलका छोरा सन्तकुमार पक्राउ परेका थिए । घुस रकम मेयर मण्डलले मागेको र घुस लिन छोरालाई पठाएको पुष्टि भएकाले उनी दुवै जनामाथि मुद्दा दायर गरिएको अख्यितयारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डिपिआर निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीका लागि काटिएका चेक दिन घुस मागेको र सेवाग्राहीले नियमानुसार पाउनुपर्ने भुक्तानी नगरी दुःख दिएको अख्तियारको दाबी छ ।
उक्त चेकको सो दिन अन्तिम म्याद भएको हुँदा चेक क्लियरिङ नभई चेकको म्याद नै समाप्त भएपछि हालसम्म पनि भुक्तानी सेवाग्राहीले पाउन नसकेको अख्तियारले जनाएको छ ।
चेकको म्याद समाप्त भएका कारण भुक्तानी हुन नसकेकाले मेयर मण्डलमाथि बिगो ५ लाख र उनका छोरा सन्तकुमारले ५ लाख लिएको तथ्य स–प्रमाण पुष्टि हुन आएकोले उनीमाथि पनि बिगो ५ लाख कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागदाबी लिई विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मेयर मण्डलका छोरा सन्तकुमार र उनीसँगै रहेका जितेन्द्र महतोलाई ५ लाख घुससहित गत असार ३१ मा अख्तियार बर्दिबासको टोलीले लहान नगरपालिका २२ बाट पक्राउ गरेको थियो । तर मेयर मण्डलका छोरासँगै पक्राउ परेका जितेन्द्रको विषयमा अख्तियार मौन देखिएको छ।