जनकपुरधाम : हुलाकी राजमार्ग निर्माण समयमा नहुँदा धनुषाका जनता सास्ती भोगिरहेका छन् । ठाउँ ठाउँमा सडक नै अवरुद्ध बनेको छ । वर्षाको पानी जमेर सडक हिलाम्मे बनेपछि मोटरसाइकल पार गर्न पनि धौ–धौ हुन्छ । अहिले यो सडक भएर चारपाङ्ग्रे सवारी आउन सक्ने अवस्था छैन ।
धनुषाबासीका लागि मुख्य शहर हो– जनकपुरधाम । तर हुलाकी सडक जर्जर बनेका कारण कमला नगरपालिका, औरही नगरपालिका र विदेह नगरपालिकाका जनताहरु चाहेर पनि जनकपुरधाम आउन सकिरहेका छैन । पानी जमेको कतिपय ठाउँमा मोटरसाइकल पार गर्न पनि जोखिम मोल्नुपर्छ ।
औरहीका प्रमोद अधिकारी भन्छन्, ‘ठेकेदारको लापरबाहीले हुलाकी सडक समयमा बन्न सकेन । साँसद नै ठेकेदार भएका कारण कसैले कारबाही पनि गरेका छैन । जसका कारण हामी सास्ती भोगिरहेका छौं ।’ कोरोना महामारीका बेला पनि एम्बुलेन्स आवतजावत गर्न नसक्ने गरी हुलाकी सडक हिलाम्मे बनेको उनको भनाई छ ।
कतिपय ठाउँमा हुलाकी सडक पोखरी झै देखिन्छ । सडकमा २ फिटसम्म पानी जमेको छ । पानीभित्र हिलो जमेको र इटा तथा पथ्थरहरु रहेकाले आवतजावत गर्न ठूलो समस्या हुन्छ । तिनकौरिया चोक नजिकै सडकमा जमेको पानीमा हरेक दिन २÷४ जना मोटरसाइकल चालक लड्ने गरेको स्थानीय बताउँछन् ।
थपिएको म्यादभित्र पनि बनेन सडक
जनकपुरदेखि कमला नगरपालिकाको सघारासम्म ३० दशमलव ७ किलोमिटर हुलाकी सडकलाई तीन खण्डमा बाँडेर निर्माणका लागि ठेक्का लगाइएको छ ।
जनकपुरधामको कदम चोकदेखि औरही गाउँपालिकाको कपटौलसम्म १२ किलोमिटरलाई पहिलो खण्ड, कपटौलदेखि विदेह नगरपालिकाको तिनकौरियासम्म १३ किलोमिटर सडकलाई दोस्रो खण्ड र तिनकौरियादेखि कमला नगरपालिकाको सघारासम्म ५ दशमलव ७ किलोमिटर सडकलाई तेस्रो खण्ड अन्तर्गत राखिएको छ ।
पहिलो र दोस्रो खण्ड सडक निर्माणका लागि लामा रमण जेभी निर्माण कम्पनीले ठेक्का पाएको छ । उक्त कम्पनीले २०७५ फागुन ३ सम्म निर्माण पुरा गर्ने सर्तमा २०७३ असार ३१ मा २७ करोड ९५ लाख ४३ हजारमा भ्याटसहित पहिलो खण्डको ठेक्का लिएको थियो ।
समयमा काम सम्पन्न गर्न नसक्दा हुलाकी राजमार्ग निर्देशनालयले पहिलो पटकका लागि २०७६ असार २४ गतेसम्म म्याद थप गर्यो । तर थप गरिएको म्यादभित्र पनि निर्माण पुरा गर्न सकिएन । करिब २५ देखि ३० प्रतिशत काम मात्र भएको छ ।
दोस्रो खण्डको सडक २०७५ फागुन ३ गतेसम्ममा निर्माण सम्पन्न गर्ने सर्तमा २०७३ असार ३१ म लामा रमन जेभी कम्पनीले २२ करोड ९७ लाख ४५ हजार रुपैयाँमा (भ्याटसहिट) ठेक्का सम्झौता भएको थियो । तर यो खण्डपनि समयमा निर्माण पुरा नहुँदा २०७६ असार २४ गतेसम्म म्याद थपियो । म्याद थपिएको समयभित्र पनि निर्माण पुरा हुन सकेका छैन ।
यस्तै तेस्रो खण्ड सडक निर्माणका लागि ढुकुचु कन्स्ट्रक्सन कम्पनी काठमाडौंले २०७४ असार ३० गते सम्झौता गरेको थियो । यो सडक खण्ड २०७५ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने तर नहुँदा पहिलो पटकका लागि २०७६ असोज २८ गतेसम्मका लागि म्याद थपियो । यो सडक अझै २५ प्रतिशत पनि निर्माण पुरा भएको छैन ।
प्रदेश साँसद नै ठेकेदार
हुलाकी सडक धनुषाको पहिलो र दोस्रो खण्ड लामा रमण जेभी कम्पनीले ठेक्का लिएको छ । तर पेटी ठेक्का भने उक्त कम्पनीका सञ्चालक बलराम महतोले आफ्नै भाई किशोरी साहलाई सुम्पिएका छन् । किशोरी धनुषाको क्षेत्र १ (क)बाट निर्वाचित नेकपाका प्रदेश २ का साँसद हुन् ।
प्रदेश सांसद नै ठेकेदार भएपनि सडक निर्माण कछुवाको गतिमा भइरहेको भन्दै पटक पटक प्रदेश २ को सदनमै आलोचना भइसकेको छ । जनताले समेत उनको व्यापक आलोचना गर्छन् । तर उनलाई वास्ता छैन । उनले ठेक्काको प्रतिनिधिमा आफ्नो नामको सट्टा महेश्वर साहलाई राखेको स्रोतले जनाएको छ ।