जनकपुरधाम : कोरोना भाइरस संक्रमण तथा जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता तथा राहदानीसम्बन्धी सेवा बन्द गर्ने भएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्रले साउन ३० गतेबाट नागरिकता तथा राहदानीसम्बन्धी अन्य सेवाहरु बन्द गरिएको सूचना जारी गरेका हुन् । कार्यालय बन्द रहेका बेला पनि अत्यावश्यक सेवा भने उपलब्ध हुने सूचनामा उल्लेख छ ।
यस्तै कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने निर्णयसमेत गरिएको छ । उनका अनुसार कोरोना संक्रमितको जनकपुरमा उपचार क्रममा मृत्यु भएमा जनकपुरधाम उपमहानगरले तत्कालै शव व्यवस्थापन गर्नुपर्ने निर्णय पनि भएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ । शान्ति सुरक्षा, मुद्दा र ठाडो उजुरीबाहेक सेवा अनिश्चित कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।