जनकपुरधाम : कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय संजिव सिंहको बिहीबार राति मृत्यु भएको हो ।
निमोनिया भई स्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । मृतक मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।
उपचारको क्रममा रहेका उनलाई कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ७ बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
सिंहको मृत्यूपछि विष्णुपुर आज विहान ४ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । मृतकको सम्पर्कका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने वडाध्यक्ष गोपिन्द्र यादबले जानकारी दिए ।