काठमाडौं : नेपाल प्रहरीका दुई डिआइजीलाई कोरोना संक्रमण भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत ती डिआइजीलाई संक्रमण भएको हो ।
उनको अवस्था भने समान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए । हालसम्म नेपाल प्रहरीका ६ सयभन्दा बढीमा कोरोना संक्रमण भइसकेको प्रवक्ता कडायतले बताए । जसमध्ये २ सय ४० जना डिस्चार्ज भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीमा हाल ३ सय ८० जना सक्रिय संक्रमित छन् ।
‘अहिलेसम्म संक्रमण पुष्टि भएका कुनै प्रहरीलाई पनि लक्षण देखिएको छैन, यो हाम्रा लागि राहतको विषय हो,’ कडायतले भने, ‘संक्रमितहरु सबै आइसोलेसनमा छन्, निको हुने दर पनि राम्रो रहेकाले काममा फर्किनेको संख्या पनि बढिरहेको छ ।’
जसमध्ये प्रहरी प्रधान कार्यालयकै १ सय ५५, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २३, प्रदेश २ का ४६, वाग्मती प्रदेशका ४०, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५२, कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।
– थाहा खबर