यस वर्ष एसइई परीक्षा जेठमा लिने तयारी, रजिस्ट्रेसन फारम खुल्यो


काठमाडौं : सरकारले यस वर्षको एसइई परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा एसइई परीक्षा सञ्चालन गर्ने तयारी अघि वढाएको हो ।

कोरोना संक्रमणको कारण गत वर्ष एसइई परीक्षा नै सञ्चालन भएको थिएन । त्यसअघिका वर्षमा भने चैत महिनामा परीक्षा हुँदै आएको थियो । यस वर्ष भने एसइई परीक्षा सञ्चालन गर्ने तयारी भएको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार आगामी जेठसम्म एसइई परीक्षा हुने सम्भावना छ । ‘चैत/वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘असार/साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिन्छ । त्यही अनुसार हामी तयारी गरिरहेका छौँ ।’

यस वर्ष शैक्षिक सत्र कहिलेबाट सुुरु हुन्छ, अझै स्पस्ट भएको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र सुुरु भएर चैतमा सकिने व्यवस्था थियो । कोरोना संक्रमणका कारण विद्यायय खुल्न नसक्दा यस वर्ष शैक्षिक सत्र कहिलेबाट सुरु गर्ने भन्नेमा समेत सरकार अलमलमा छ ।

उपत्यका बाहिरका अधिकांश विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन अघि बढाए पनि राजधानी काठमाडौंका विद्यालय अझै खुलेका छैनन् । काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयले वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालन गरिरहेका छन् ।

एसइई परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि रजिस्ट्रेसन फाराम खुला गरिसकेको छ । बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ ।

प्रकाशित : 31 December 2020 9:00 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ