सुखिपुरमा पक्राउ प्रकरण : निर्दोष व्यक्तिलाई फसाइएको दाबी गर्दै पत्रकार सम्मेलन


लहान । सुखिपुर नगरपालिका ८ स्थित चेकजाँच प्वाइन्टबाट पक्राउ गरिएका एक भारतीय नागरिक निर्दोष रहेको दाबी गर्दै उनका आफन्तजनले शुक्रबार पत्रकार सम्मेलन गरी निष्पक्ष छानबिन र न्यायको माग गरेका छन्।

आफन्तजनका अनुसार २०८२ फागुन ९ गते दिउँसो करिब ३:०० बजे भारत, बिहार प्रदेश लदनिया थाना सिदपा गाउँ बस्ने मनोज कुमार साहलाई शस्त्र प्रहरी बल नेपाल बेस क्याम्प सुखिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो। टोलीको कमाण्ड डिएसपी विजय कुमार चौधरीले गरेका थिए।

प्रहरीले साहको साथबाट ५ लाख नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ, करिब ३७ तोला चाँदी, एक थान मोबाइल र एक थान मोटरसाइकल बरामद गरेको जनाएको छ।

साहका आफन्त तथा सुखिपुर नगरपालिका ८ निवासी शम्भु कुमार पुर्वेका अनुसार करिब ४२ महिना अघि साहकी आमा बिरामी पर्दा उनले लहान १ (हाल–७) स्थित नेमचन सारडा एण्ड सन्समा घरायसी सुनचाँदी बन्दकी राखेका थिए। पछि बन्दकी राखेको सुन छुटाउन नसकेर सोही पसलमा सुन बिक्री गरी ५ लाख रुपैयाँ लिएका र चाँदी फुकुवा गरेर घर फर्किंदै गर्दा बाटोमै पक्राउ गरिएको उनले बताए।

अर्का आफन्त तथा गोलबजार नगरपालिका ६ निवासी राकेश कुमार महतोले नेपालमा गुणस्तरीय सुनचाँदी पाइने भएकाले भारतीय नागरिकहरू समेत यहाँबाट खरिद गर्ने गरेको बताए। “बिलभरपाई देखाउँदासमेत पक्राउ गर्नु अन्याय हो,” उनले भने।

त्यस्तै रामप्रकाश महतोले सुखिपुरबाट पक्राउ गरिएको व्यक्तिको मुचुल्का भने बरियारपट्टी बोर्डर क्षेत्रमा उठाइएको दाबी गरे। बरामद सामग्री संकलन गरेलगत्तै डिएसपी चौधरीले नगद तथा गरगहना कुम्ल्याउने नियतले तत्काल मुचुल्का नउठाई साहलाई छाड्ने प्रयास गरेको आरोप समेत उनले लगाए। प्रहरीको गतिविधि शंकास्पद रहेको उनको जिकिर छ।

मनोज कुमार साह व्यापारी नभई किसान रहेको दाबी गर्दै आफन्तजनले बरामद गरिएका सम्पूर्ण सामान फिर्ता गरी उनलाई तत्काल रिहा गर्न माग गरेका छन्। प्रमाणका आधारमा निष्पक्ष छानबिन नभए कानुनी उपचारका लागि डिएसपी चौधरीविरुद्ध अदालत जाने चेतावनी समेत पत्रकार सम्मेलनमार्फत दिएका छन्।

प्रकाशित : २०८२ फाल्गुन १६, शनिबार १०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ