सहिद दिवसमा मानवताको उज्यालो उदाहरण- लहानमा नाइटिंगेल स्कूलद्वारा विपन्नलाई कम्बल वितरण


धर्मेन्द्र पासवान/लहान । सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण प्रस्तुत गर्दै सिरहाको लहानमा रहेको नाइटिंगेल स्कूलले सहिद दिवसको अवसरमा चिसोले कठोर बनेको जीवनमा न्यानोपन भरेको छ ।

विद्यालयले लहान नगरपालिकाका वडा नं-१, ३, ४,५,६,७,८ र १० गरि ७ ओटा वडाका ७८ जना आर्थिक रूपमा अत्यन्त विपन्न नागरिकहरूलाई न्यानो कम्बल वितरण गर्दै सहिदप्रति साँचो सम्मान प्रकट गरेको हो ।

कार्यक्रम विद्यालयकी संस्थापक अन्जु चौधरीको प्रमुख आतिथ्यता तथा प्रिन्सिपल अभि नारायण निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

चिसो मौसममा न्यानो कम्बल पाउँदा लाभग्राहीहरूको आँखामा देखिएको खुसी र कृतज्ञताले कार्यक्रमलाई अझै भावुक बनाएको थियो ।

विद्यालयले पछिल्लो समय विद्यार्थीहरू प्रायः मोबाइलमै अत्यधिक समय बिताइरहेको यथार्थलाई आत्मसात् गर्दै त्यस समयलाई सही सदुपयोग र सत्कर्मतर्फ मोड्ने सोच अघि सारेको छ । डिजिटल संसारमा हराइरहेको बालमनलाई समाजसेवामा जोड्ने उद्देश्यसहित विद्यालयले एउटा सानो तर अर्थपूर्ण पहल गरेको हो ।

यसै क्रममा विद्यार्थीहरूलाई २५ रुपैयाँको सानो सहयोग कुपन प्रदान गरी उनीहरूलाई आफ्नै नजिकका मान्छे, परिवार र आफन्तसँग सहयोग संकलन गर्न प्रेरित गरिएको थियो । रकम सानो भए पनि त्यसले विद्यार्थीहरूमा सेवाको भावना, सहकार्य र सामाजिक जिम्मेवारीको चेतना जगाएको छ ।

प्रिन्सिपल अभि नारायण निरौलाका अनुसार मोबाइलमा सीमित हुने समयलाई मानवताको अभ्यासमा रूपान्तरण गर्न सकियो भने त्यसले बालबालिकाको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउँछ । सानै सहयोगबाट पनि ठूलो उदाहरण प्रस्तुत गर्न सकिन्छ भन्ने सन्देश विद्यार्थीहरूले व्यवहारमै देखाएका
छन् ।

यस पहलले विद्यार्थीहरूलाई केवल पढाइमा मात्र होइन, समाजप्रति संवेदनशील, जिम्मेवार र दयालु नागरिक बन्ने दिशामा एक महत्वपूर्ण पाइला चालेको विद्यालयको विश्वास
छ ।

लहान नगरपालिका-३ की ९० वर्षीया भुल्की सदायको जीवन पीडाले भरिएको छ । उनका छ वटा छोरा सबैको मृत्यु भइसकेको छ भने एक महिनाअघि मात्र एउटी मात्रै बुहारीको पनि निधन भएको छ । बुढेसकालमा सहारा बन्ने कोही नभएपछि उनी आज स्वर बोलाइमा समस्या भएका एक जना नातिसँगै कठिन जीवन बिताउन बाध्य छिन् ।

कम्बल सहयोग पाउँदा उनी पनि भावुक बनिन् । आँसु झार्दै उनले व्यक्त गर्न नसकेको पीडा उनका आँखाले नै बोलेको
थियो । सानो सहयोगले पनि आफू एक्लो छैन भन्ने अनुभूति दिलाएको भन्दै नाइटिंगेल स्कूलका विद्यार्थी र विद्यालय परिवारप्रति उनले मनदेखि नै आशिर्वाद दिइन् ।

सहिद दिवसलाई केवल औपचारिकतामा सीमित नराखी मानवीय सेवासँग जोड्दै समाजप्रति उत्तरदायी बनेको नाइटिंगेल स्कूलको यो कदम सबैका लागि प्रेरणादायी बनेको छ । सहिदको बलिदान सम्झँदै गरिने यस्ता कर्मले नै समाजमा साँचो परिवर्तन सम्भव हुन्छ ।

लहान नगरपालिका-३ की ६५ वर्षीया लडुवती महतो कम्बल पाउँदा भावुक हुँदै आँखाभरि आँसु लिएर भनिन् “परिवारमा अब कोही छैन, छोराछोरी सबैको निधन भइसकेको छ ।” एक्लोपन र पीडाले भरिएको उनको जीवनमा न्यानो कम्बल मात्र होइन, मानवीय स्पर्श र माया पनि पाएको अनुभूति उनको स्वरमा झल्किन्थ्यो ।

रुँदै उनले सहयोगप्रति कृतज्ञता प्रकट गर्दै भनिन् “यो सहयोग गर्ने नाइटिंगेल स्कूलका विद्यार्थी र सम्पूर्ण विद्यालय परिवार सधैं राम्रो रहुन् ।” उनका यी शब्दले उपस्थित सबैलाई भावुक बनाउँदै सानो सहयोगले कसैको जीवनमा कति ठूलो आशा र भरोसा जगाउन सक्छ भन्ने गहिरो सन्देश दिएको थियो ।

विद्यालयका शिक्षक चन्द्रकान्त पण्डितका अनुसार, वडाको सिफारिसका आधारमा प्रत्येक वडाबाट १५ जनाका दरले विपन्न व्यक्तिहरू छनोट गरी विद्यालयमा उपस्थित गराइएको थियो । यसरी व्यवस्थित र पारदर्शी रूपमा छनोट गरिएको प्रक्रियाले सहयोग सही व्यक्तिसम्म पुग्ने सुनिश्चित गरेको उनले बताए ।

 

यसैबीच, कार्यक्रमको सम्पूर्ण सञ्चालन तथा उद्घोषण जगत आचार्यले गरेका थिए । सरल र शालीन शैलीमा गरिएको उद्घोषणले कार्यक्रमलाई अनुशासित र प्रभावकारी बनाउँदै उपस्थित सबैमा सकारात्मक सन्देश प्रवाह गरेको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक लगायत वडा नं-३ का वडा अध्यक्ष राम दयाल महतो र संचारकर्मीहरूको उपस्थिति रहेको थियोे ।

प्रकाशित : २०८२ माघ १६, शुक्रबार १६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ