दुबई । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अब औपचारिकरूपमा ‘कपल’ बनेका छन् । लामो समयदेखि उनीहरुबीच प्रेम सम्बन्धको गाईंगुईं चल्दै आएतापनि दुवैले सार्वजनिक स्वीकारोक्ति गरेका थिएनन् ।
अस्मिता र महेशले दुबईको प्रख्यात बुर्ज खलिफा नजिक रहेको विङ्स अफ मेक्सिकोमा मंगलबार औंठी साटासाट गरेका हुन् । अन्तर्राष्ट्रिय कलाकार समाज (र्ईनास) आबुधावी क्षेत्रीय समितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रमका लागि उनीहरु केही दिनअघि दुबई आएका थिए । यहाँ आएर ईंगेजमेन्ट गर्ने पूर्वतयारी थियो । दुवैले ईंगेजमेन्टका लागि कपडाहरु नेपालबाट लिएरै आएका थिए । औंठी भने दुबईमा नै सोमबार खरिद गरेका हुन् ।
गत १३ जूनमा महेश र अस्मिता दुबई उडेका थिए । जुन १५ उनीहरु इनास आवुधावीले गरेको कार्यक्रममा सहभागी भए । त्यसपछि आइतबार इदको कार्यक्रममा प्रस्तुति दिए । सोमबार ईंगेजमेन्टको तयारी र डेजर्ट सफारी गरे । मंगलबार ईंगेजमेन्ट र फोटोसुट गरेका उनीहरुले आज सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेपछि ‘कपल’का रुपमा खुलेर दुबई घुम्दैछन् ।
ईंगेजमेन्टमा नेपालबाट सँगै आएका कलाकार विश्व दोङ, सुनिता कार्की तथा इनास यूएईका केही पदाधिकारी थिए । गायक प्रमोद खरेल भने सांगीतिक कार्यक्रम सकाएर कतार हुँदै क्यानडा गएकाले सहभागी हुन पाएनन् । पारिवारिक सदस्यहरु पनि कोही थिएनन् । ईंगेजमेन्टका क्रममा उनीहरुले परिवारसँग भिडिओ कलमा कुराकानी गरेका थिए ।
परिवारिक सल्लाहमा नै दुबईमा ईंगेजमेन्ट गरेको अस्मिताले बताइन् । संसारको प्रख्यात शहर भएकाले र सकेसम्म छिटो–छरितो होस् भनेर यहाँ गरेको उनको भनाइ छ । आफूहरु यसै वर्षभित्र बिहेको तयारीमा रहेको पनि उनले जानकारी दिइन् । अस्मिताका अनुसार बिहे पनि तडकभडक बेगर नेपाली परम्पराअनुसार हुनेछ । – नेपाल प्रेस
यो पनि हेर्नुहोस्…