वीरगञ्ज : होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको घरमा पर्साको वीरगञ्ज महनगरपालिकाले स्थानीयलाई सतर्क रहन सूचना टाँस गरेको छ ।
संक्रमित बारे स्थानीयलाई जनाउ दिन महानगरपालिकाले ‘कोभिड–१९ पोजेटिभ केशको घर, होम आइसोलेशन सतर्क रहौँ’ लेखिएको सूचना टाँसेका हुन् । बुधबारसम्ममा ३० वटा घरमा यस्तो सूचना टाँस गरिएको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोका अनुसार कोभिड अस्पतालको चाप कम गर्न लक्षण नभएका कोरोना संक्रमितलाई घरमै होम आइसोलेशनमा राखिएको जानकारी दिए । ‘होम आइसोलेसनमा बसेका संक्रमितको घर अगाडि सूचना टाँसिदा स्थानीयको जानकारीमा आउँछ,’ उनले भने, ‘आफ्नो समुदायमा कोरोना संक्रमण आइसक्यो भनेर उनीहरु पनि सतर्क हुन्छन् ।’
कोभिड अस्पतालको क्षमताले धान्न नसकेपछि लक्षण नभएका संक्रमितलाई होम आइसोलेशनमा राखिएको उनले बताए । पछिल्लो समय वीरगञ्जमा ‘मिक्सड केश’ आउँदै छन् । ‘कसैमा लक्षण छन्, कसैमा लक्षण छैनन्,’ उनले भने, ‘लक्षण नभएकालाई घरमै आइसोलेशनमा राख्दा कोभिड अस्पतालको लोड चाप हुन्छ । घरमा पूर्वाधार हुनेहरुलाई घरमै होम आइसोलेसनमा राखिएको हो ।’
होम आइसोलशनमा बस्दा कोरोना संक्रमितले १४ बुँदे आइसोलेशन सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ । ‘वडा अध्यक्ष, नजिकका प्रहरी र स्वास्थ्यकर्मीको टीमले १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्ने मन्जुरीनामा संक्रमित परिवारसँग गराउँछन्,’ स्वास्थ्य महाशाखा प्रमुख महतोले भने, ‘बिहान र साँझ स्वास्थ्यकर्मी संक्रमितको सम्पर्कमा हुन्छन् ।’
- कान्तिपुर