सिरहामा तस्करले सशस्त्र प्रहरी यादवको ज्यान लियो– लहानमा चर्कियो आन्दोलन, राजमार्ग अवरुद्ध


जनकपुरधाम । मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मण प्रसाद यादवको हत्या गरेको भन्दै सिरहाको लहानमा आन्दोलन चर्केको छ ।

मृतक सईका आफन्त र लहानबासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । टायर बालेर मृतकका आफन्त र स्थानीय राजमार्ग अवरुद्ध पारेपछि विहान ८ बजेदेखि नै पूर्वपश्चिम राजमार्ग ठप्प छ । आन्दोलनले सयौं सवारी साधन अलपत्र परेको छ ।

भारतसँग सिमा जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीमा ड्यूटीमा रहेका बेला सई यादवलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आज विहान करिब ३ बजे ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट सई यादवको घटनास्थलमै मृत्यू भएको हो । उनले गाडी रोक्न खोजेका थिए । तर ठक्कर दिएर गाडी भारततर्फ भागेकाले मदिरा तस्करी गर्नेहरुको गाडी हुनसक्ने स्थानीयको अनुमान छ ।

मृतक सई यादव बिओपी बरहरीमा कार्यरत थिए । उनीसँगै अन्य चार सशस्त्र प्रहरी पनि ड्यूटीमा थिए । यद्दपी अन्य प्रहरीले केहि गर्न सकेनन् । मृतक सई यादवको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

मृतक सईका नातामा दाई पर्ने पाण्डब यादवले प्रहरी प्रशासनकै कमजोरीले घटना घटेको आरोप लगाए । प्रदर्शनमा सहभागी उनले भने, ‘मेरो भाईसँगै अन्य चार जना प्रहरी ड्यूटीमा थिए । तर गाडी ठक्कर दिएर भागेपछि प्रहरीले किन गोली चलाएनन् ? यो त चरम लापरबाही हो नी ।’

आन्दोलनमा उत्रेकाहरुले घटनाको निष्पक्ष छानविन गर्नुपर्ने, ठक्कर दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही हुनुपर्ने, मृतकका आफन्तलाई न्याय तथा क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित : २०८१ मंसिर १६, आईतवार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ