काठमाडौं : सेवा सञ्चालनको मिति लगातार सर्दै गएको जनकपुर-जयनगर रेल यातायात आगामी दसैंअघि थाल्ने लक्ष्य निर्धारण भएको छ ।
एक वर्षअघि नै सञ्चालनमा आइसक्नुपर्ने उक्त रुटको रेल सेवा विभिन्न कारणले ढिला हुँदै आएको छ । पूर्वाधार निर्माण भए पनि जनशक्ति र प्राविधिक व्यवस्थापनको काममा नेपाल रेलवे कम्पनीले ढिला गर्दा लक्ष्य पछाडि सरिरहेको हो ।
अब नयाँ भाका असोजका लागि तोकेर दसैंअघि नै रेल संचालनमा ल्याउने गरी काम गरिरहेको रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले बताए । ‘भारतसँग क्रस-बोर्डर रेल संचालन गर्नुपर्ने भएकाले सेवा सम्झौता र कर्मचारी भर्ना लगायतका तयारी कामहरु भइरहेका छन्,’ उनले भने । नेपालतर्फ गर्नुपर्ने तयारी पूरा गरेर आगामी असोज अन्तिमसम्ममा संचालन गर्ने योजना बनाइएको उनले बताए ।
रेल यातायात सञ्चालनका लागि पूर्वाधार, ट्रेन सेट र कर्मचारी (प्राविधिक सहित)को आवश्यकता पर्दछ। पूर्वाधार तयार अवस्थामा छ । भारतले आर्थिक र प्राविधिक सहयोगमा विहारको जयनगरदेखि जनकपुरको कुर्थासम्म करिब ३५ किलोमिटर रेलमार्ग तयार पारिदिएको हो । रेलमार्ग तयार भए पनि नेपाल सरकारलाई औपचारिक हस्तान्तरण भने हुन बाँकी छ ।
सेप्टेम्बरसम्ममा हस्तान्तरण हुने भट्टराइले बताए । आगामी वर्ष बिजलपुरासम्म करिब ५२ किमि रेल संचालन गर्ने गरि काम सुरु गरिएको छ । त्यहाँबाट बर्दिवाससम्म करिब ६९ किमि रेल निर्माण भारतले अनुदान सहयोगमा निर्माण गरिदिन लागेको हो । साइट क्लियर नभएका कारण उक्त खण्डमा काम हुन सकेको छैन।
जनकपुर-जयनगर रेल सञ्चालनका लागि ४० जना प्राविधिक र २२६ जना थप कर्मचारी आवश्यक पर्ने सूची छ। कर्मचारीको भर्ना प्रक्रिया रोकिएको छ । नेपालमा रेल चलाउन प्राविधिक कर्मचारी नभेटिएका कारण भारतबाट ल्याउन लागिएको कम्पनीले जनाएको छ। बाँकी २२६ जना भने नेपालमै भर्ना गरिनेछ । मन्त्रिपरिषदले पनि विदेशबाट प्राविधिक कर्मचारी ल्याउन स्वीकृति दिइसकेको छ । यस्ता कर्मचारीहरु करारमा लिइनेछ । जसमा ड्राइभर र स्टेशन म्यानेजर लगायत प्राविधिक हुनेछन् ।
सुरूमा भारतले कर्मचारी र रेल सेट दिने प्रस्ताव गरेको थियो। कर्मचारी आफैं भर्ना गर्ने र आफ्नै ट्रेन सेट चलाउने नेपाली प्रस्तावका कारण सेवा सञ्चालनको मिति पछि सर्दै आएको हो । नेपालको अर्डरअनुसार ट्रेन सेट तयार भए पनि रेलवे कम्पनी जनशक्ति व्यवस्थापनमा हतारिएन । त्यसैले सेवा सञ्चालनको मिति पछाडि पर्दै आएको हो ।
महाप्रबन्धक भट्टराइले प्राविधिक कर्मचारी ल्याउने विषयमा भारतलाई छुट्टै प्रस्ताव गर्न लागिएको जानकारी दिए। एक वर्षका लागि करारमा कर्मचारी लिन लागिएको छ। नेपाली कर्मचारी सक्षम भएपछि उनीहरुलाई फिर्ता गरिनेछ। नेपाली इन्जिनियरहरुलाई भारतमा तालिम दिन पठाउन लागिएको छ। सयुक्त वर्किङ कमिटीको बैठकले यसलाई टुंग्याउने छ। कोरोनाका कारण बसिसक्नुपर्ने बैठक अझै भएको छैन।
नेपालको अर्डर अनुसारको ट्रेन सेट तयार भइसकेको छ । भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनले दुई सेट ट्रेन चेन्नईस्थित आफ्नो सवारी डिब्बा कारखानामा तयार पारेको हो । उक्त ट्रेन सेटको परीक्षण समेत भइसकेको छ। ट्रेन सेट तयार भएको ६ महिना भए पनि नेपाल ल्याइएको छैन। बोर्डर पारि ल्याएर राखिएको छ। विहारको हाजिपुरमा ल्याएर राखिएको महाप्रबन्धक भट्टराइले बताए ।
अझै नेपालको आन्तरिक तयारी नहुँदा ट्रेन सेट नल्याइएको हो । निर्माता कम्पनीले नेपाललाई पटक पटक ट्रेन सेट लैजाउ भनिरहेको छ । ‘ल्याएर धेरै समय राख्न सकिँदैन । त्यो रेल आधुनिक छ । इलेक्ट्रोनिक सिस्टमहरु छन्,’ उनले भने, ‘ल्याएर नचलाइ राखे समस्या आउन सक्छ । त्यसकारण हामीले ल्याउन नसकेका हौं ।’
करिब ८४ करोड रुपैयाँमा दुइ सेट रेल नेपालले ल्याउन लागेको हो । जसको २० प्रतिशत भुक्तानी भइसकेको छ भने ८० प्रतिशत भुक्तानी बाकी छ । ‘दुवै ट्रेन सेट नेपाल ल्याएर टेष्टिङ, कमिसनिङ गरेपछि मात्रै स्वीकार्छौ,’ महाप्रबन्धक भट्टराइले भने, ‘सबै कुरा ठीक भएको यकिन भएपछि उहाँहरुले बाँकी रहेको ८० प्रतिशत भुक्तानी पाउनुहुनेछ ।’
भारतसँग क्रस बोर्डर रेल संचालनका लागि सम्झौता समेत गर्न बाँकी छ। दुइ देश जोड्ने भएकाले बोर्डर व्यवस्थापन रेल सर्भिसिङ मेन्टेनेन्स, सेड्युल भन्सार र अध्यागमन लगायतका विषयहरुमा सम्झौता हुनेछ । भट्टराइका अनुसार निश्चित समय संचालन गरेपछि अन्य सवारीसाधन जस्तै रेलको पनि सर्भिसिङ गर्नुपर्छ । ‘त्यसका लागि समेत भारतसँग सम्झौता गर्नुपर्ने हुन्छ । नेपालमा रेल नै नरहेका कारण त्यस्ता सर्भिसिङ सेन्टर हुने कुरा भएन । दुइ देशको सुरक्षा लगायतका विषयहरु समेत छ,’ उनले भने।
उक्त खण्डमा डिजल इलेक्ट्रिफाइड मल्टिपल युनिट (डेमु) रेल संचालन गर्न लागिएको हो । यो रेल ब्रोडगेज ट्रयाकमा छोटो दुरीमा संचालन गर्न उपयुक्त मानिन्छ । एक सेट ट्रेनमा पाँचवटा डिब्बा हुन्छ । अगाडि र पछाडि दुवैतिर इन्जिन जोडिएको हुन्छ। दुवैतिर इन्जिन जोडिएका कारण नघुमाई दुवैतर्फबाट चलाउन सकिन्छ । ट्रेनमा ६ सय जनाले यात्रा गर्न सक्छन् । छोटो दुरी भएकाले उभिएर पनि यात्रा गर्न सकिन्छ । ११० किमि प्रतिघण्टासम्म कुद्न सक्ने क्षमताको हुन्छ ।
जनकपुर-जयनगर खण्डमा पुरानो रेल थियो । त्यसलाई बिस्थापन गरि नयाँ संरचनासहित सञ्चालनको तयारी गरिएको हो । गत वर्ष रेलवे ट्रयाकका केही भागमा बाढीले क्षति पुर्याएको थियो । मर्मत गरेर ट्रयाक पुनः तयार गरि निर्माण कम्पनीले परीक्षण समेत गरिसकेको छ ।
– दिनेश खड्का / बिजमाण्डू