टुडेखोज/ जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका २ मा तीन दिनअगाडी भएको एक बलात्कार घटनामा संलग्न व्यक्तिलाई वडाध्यक्ष गणेश यादबले संरक्षण गरिरहेको रहस्य खुलेको छ ।
वडाध्यक्ष यादबकै कारण प्रहरीले समेत बलात्कारीलाई बचाउन प्रयास गरेका हुन् । घटनाको तीन दिन वितिसक्दा पनि प्रहरीले बलात्कारमा संलग्न व्यक्तिलाई पक्राउ गरेका छैन । बलात्कार घटना गाउँमै मिलापत्र गराउने प्रयास भइरहेको भन्दै स्थानीय युवाहरु र दलितहरु आज महेन्द्रनगर प्रहरी कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् ।
सडकमै धर्ना समेत बसेका युवाहरु तथा दलितहरु प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरे । उनीहरु ‘बलात्कारीलाई कारबाही गर’ नारा लगाए । प्रदर्शनमा ठूलो संख्यामा युवा तथा दलित समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
आन्दोलनमा सहभागी युवा रोषण यादबले ९ वर्षीया दलित बालिकालाई ५५ वर्षीय व्यक्तिले चकलेटको प्रलोभन देखाएर बलात्कार गरेको बताए । उनले भने, ‘पीडित परिवारलाई २५ हजार रुपैया दिएर अपराधीलाई बचाउने प्रयास भइरहेका थाहा पाएपछि हामी आन्दोलन थालेका छौं ।’ उनले पनि वडाध्यक्ष नै बलात्कारीलाई संरक्षण गर्न लागेको कुरा थाहा पाएको बताए ।
वडाध्यक्ष यादबलाई फोन गर्दा पञ्चायतमा रहेको बहाना बनाउदै प्रतिक्रिया दिन मानेनन् । उनले आधा घण्टापछि मात्र कुरा गर्ने भन्दै फोन काटे । आर्थिक चलखेलमा परी अपराधीलाई संरक्षण गर्न लागेकै कारण उनी मिडियामा बोल्न नमानेको स्रोतको दावी छ ।