मनोज बनैता/ लहान : सप्तरीको बलान बिहुल गाउँपालिका र सिरहाको भगवानपुर गाउँपालिका जोड्ने बलान नदीमा झोलुङ्गे पुल बन्ने भएको छ ।
बुधवार बलान बिहुलका प्रमुख दयानन्द गोइत र भगवानपुरका प्रमुख बेचन यादबले संयुक्त रुपमा पुलको शिलान्यस गरेका हुन् । बन्न लागेको पुल बलान विहुल गापा ३ मा पर्ने दुधैला घाट र भगबानपुर गाउँपालिकाको सिनुरीयाघाट जोड्छ ।
बलान बिहुलका प्रमुख गोइतले स्वीस बैंक र नेपाल सरकारको साझेदारीमा झोलुङ्गे पुल बन्न लागेको जानकारी दिए । उनका अनुसार पुलको लम्बाई २७२ मिटर रहेको छ । पुलको लागत करिब ३ करोड रहेको बुझिएको छ ।
बलान नदीमा आउने बाढीले सिरहा र सप्तरीको सम्बन्ध नै विच्छेद हुन्थ्यो । तर पुल बनेपछि आवतजावत गर्न सहज हुने भएपछि सो क्षेत्रका जनता खुःशी भएका छन् । पुलको बजेट भगवानपुर गाउँपालिकामा गएपनि सकारात्मक रुपमा लिएर शिलान्यास गरेको बलान बिहुलका अध्यक्ष गोइतको भनाई छ ।