अमेरिकामा सवारी दुर्घटना : महोत्तरीका एकसहित २ नेपालीको ज्यान गयो


काठमाडौं, ९ असोज । अमेरिकामा मंगलबार र बुधबार भएका दुई सडक दुर्घटनामा दुई नेपालीको ज्यान गएको छ ।

स्थानीय प्रहरीका अनुसार नेपालबाट घुम्न आएका विष्णुप्रसाद सापकोटा लेक्जिङ्गटन शहरमा दुर्घटनामा परेका हुन् । बुधबार बिहान घुम्न निस्केका सापकोटा रिचमण्ड रोड र न्यु सर्कल रोड आसपासमा दुर्घटनामा परेका थिए । बिहान ७ बजेर २० मिनेटमा दुर्घटनामा परेका उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । पछि युनिभर्सिटी अफ केन्टकी अस्पतालमा मृत घोषित गरियो ।

पारिवारिक स्रोतका अनुसार नेपाल बर्दिवास, महोत्तरी घर भई ३ हप्ता अघिमात्र छोरी बिनिता सापकोटा तथा ज्वाई रोशनराज घिमिरेलाई भेट्न आएका थिए । सँगै घुम्न निस्केकी उनकी घाइते श्रीमति विमला सापकोटाको हाल युनिभर्सिटी अफ केन्टकी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मङ्गलबार कर्णबहादुर सुवेदी सडक दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते कर्णबहादुर सुवेदीको उपचारको क्रममा मृत्यु भएको स्थानीय ल्यानकास्टर अनलाइनले जनाएको छ ।

सडक पार गर्ने क्रममा स्टोन मिल रोडमा मंगलबार दिउँसो १ बजेर ४४ मिनेटमा गाडिले ठक्कर दिँदा गम्भीर घाइते भएका नेपाली–भाषी भूटानी सुवेदीलाई उपचारका लागि नजिकैको ल्यानकास्टर जनरल अस्पताल लगिएको थियो ।

थाहा खबर

प्रकाशित : २०७६ आश्विन ९, बिहीबार ०४:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ