भारतले आफैं बनाउन थाले बुलेटप्रुफ ज्याकेट, ४० हजार सेनालाई दिइने


एजेन्सी, २ कार्तिक । भारतीय सेनालाई पहिलो पटक देशमै बनेको ४० हजार थान बलेटप्रुफ ज्याकेट दिइने भएको छ । यी ज्याकेटहरु पहिलो चरणमा जम्मू–कश्मीरमा खटिएका सैनिकहरुले पाउने छन् ।

आतंकवाद विरुद्धको अपरेसनमा खटिएका सैनिकहरुले देशमै बनेको बुलेटप्रुफ ज्याकेट पाउने भारतीय अधिकारीले बताएका छन् । गत वर्ष भारतीय रक्षा मन्त्रालयले एसएमपीपी प्राइभेट लिमिटेडसँग १.८६ लाख थान उच्चस्तरको ज्याकेट निर्माणका लागि ६३९ करोड भारुमा सम्झौता गरेको थियो ।

यसबाट भारतीय सेना तथा उद्योगको आत्मविश्वास बढ्ने कदमको रुपमा रहने मन्त्रालयको अपेक्षा छ । रक्षा मन्त्रालयसँगको सम्झौताअनुसार उक्त कम्पनीले यस वर्ष ३६ हजार थान बुलेटप्रुफ ज्याकेट उपलब्ध गराउनु पर्नेमा लक्ष्यभन्दा बढी ४० हजार थान ज्याकेट तयार गर्न सफल भएको बताएको छ ।

ज्याकेट बनाउने जिम्मा पाएको कम्पनी एसएमपीपी प्राइभेट लिमिटेडका तर्फबाट मेजर जनरल अनिल ओब्रायले सरकारले दिएको निर्धारित समयभन्दा अगावै बाँकी ज्याकेटहरु पनि बुझाउने बताए ।

भारत सरकारले २०२१ सम्ममा ती सबै ज्याकेट बनाएर उपलब्ध गराइसक्नु पर्ने समयसीमा दिएको छ । यद्यपि, २०२० को अन्तसम्ममा सबै ज्याकेट तयार भइसक्ने दावी गरिएको छ । यो ज्याकेटले हार्ड स्टीलबाट बनेको गोलीलाई छेक्न सक्ने क्षमता राख्दछ । एके–४७ तथा अन्य हतियारबाट प्रहार भएका गोलीले समेत यो बुलेटप्रुफ ज्याकेटलाई कुनै असर पर्ने छैन ।

https://www.youtube.com/watch?v=c2d5JtFlqXw

बोराँन कार्बाइड सेरेमिकबाट तयार गरिएका बुलेटप्रुफ ज्याकेट सुरक्षाको दृष्टिले पनि सुरक्षित र हल्का रहेको छ । ज्याकेटले शरीरलाई ३६० डिग्रीमा सुरक्षा गर्नेछ । यस कार्यलाई भारतीय सेनाको आधुनिकीकरणको कदमको रुपमा लिइएको छ ।

प्रकाशित : २०७६ कार्तिक २, शनिबार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ