संकटमा ट्रम्प : महाभियोगलाई औपचारिकता दिने प्रस्ताव पारित


वासिंगटन, १५ कात्तिक । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्समा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित भएको छ ।

सो प्रस्तावमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने विषय समेटिएको छ । डेमोक्रेटहरुको नियन्त्रणमा रहेको तल्लो सदनमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा समर्थन रहे/नरहेको पहिलो औपचारिक परीक्षण थियो ।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मतदानको भर्त्सना गरेको छ । प्रस्तावको पक्षमा २३२ मत खसेको थियो भने विपक्षमा १९६ मत परेको थियो । सन् २०१६ को निर्वाचनमा झिनो मतान्तरले ट्रम्प विजयी भएका जिल्लाबाट प्रतिनिधित्व गर्ने दुई डेमोक्रेट सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

हाउस अफ रेप्रिजेन्टटिभ्सले पारित गरेको प्रस्तावले ट्रम्पका वकिलहरूको अधिकार समेत निर्धारण गरेको छ । राष्ट्रपति ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जोए बिडेनविरुद्ध भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएको आरोप छ । ट्रम्पले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

सभामुख न्यान्सी पेलोसीले आफ्नो पार्टीले अमेरिकी संविधान र प्रजातन्त्रको रक्षाका निम्ति महाअभियोगको कदम चालिएको दाबी गरेकी छन् । बन्द कोठाभित्र सुनुवाइ गरेको भन्दै रिपब्लिकनहरूले डेमोक्रेटहरूको आलोचना गर्दै आएका छन् ।

यद्यपि सुनुवाईहरुमा रिपब्लिकन समेत सहभागी हुँदै आएका छन् । डेमोक्रेटहरुले अनुसन्धानलाई सार्वजनिक तहमा लैजानुअघि प्रमाणहरू जुटाउन आवश्यक रहेकोमा जोड दिँदै आएका छन् । एजेन्सी

प्रकाशित : २०७६ कार्तिक १५, शुक्रबार ०५:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ