धनुषामा लिएको रकम फिर्ता नगरेकै झोंकमा बुहारीको हत्या गरेको खुलासा


जनकपुरधाम, १० पुस । जनकपुरधाम उप–महानगरपालिका २१ कुर्था निवासी वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा पटक–पटक आफ्ना भाई मिश्री प्रसाद र बुहारी रानीदेवीलाई रकम पठाउँछन् । कहिले १० त कहिले १५ हजारका दरले पठाएको रकम झण्डै तीन लाख पुगेपछि श्रीप्रसाद फिर्ताका लागि दवाव दिन्छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका उनले आफूले विदेशबाट पठाएको रकम दिनुपर्ने भन्दै दवाव दिन थालेपनि बुहारी रानीले आजभोली भन्दै टारिरहिन्छन् । आफ्ना श्रीमान् मलेसिया गएको र रकम पठाएपछि दिउने बताएपनि श्रीप्रसाद यो कुरा मान्न तयार हुँदैनन् । आफूलाई पुनः विदेश जान रकम नभएकाले तत्कालै जसरी भएपनि आफ्नो रकम फिर्ता गर्न दवाव दिन्छन् ।

यता आफ्ना जेठाजुको रकम तिर्न रानी हदै प्रयास समेत गर्छिन् । आफन्तसँग ऋण लिएर भएपनि जेठाजु श्रीप्रसादलाई रकम दिन उनी धनुषाकै मिथिला नगरपालिका ९ बडहरीस्थित आफन्तको घर जान्छिन् ऋण माग्नका निम्ति । तर रकम पाउँदिनन् । रकम लिन उनका जेठाजु श्रीप्रसाद पनि सोही ठाउँ जान्छन् । तर, रानीले रकम पाउन नसकेको झोंकमा श्रीप्रसादले बुहारी रानीमाथि खुकुरी प्रहार गर्छन् ।

मिथिला नगरपालिका ९ बडहरीस्थित रेडक्रस पछाडिको आँपको बगैचामा रानीको टाउको, नाक र बायाँ हातको तीन ओटा औंला काटेर गम्भीर घाइते बनाउँछन् । तत्कालै अस्थायी प्रहरी पोष्ट बडहरीको टोली र स्थानीयहरुले उनलाई उद्वार गरी उपचारका निम्ति पठाएपनि रानीको ज्यान जान्छ ।

आफ्नै जेठाजु श्रीप्रसादले ३८ बर्षीया बुहारी रानीलाई लिएको रकम नदिएकै कारण बुधबार मात्रै खुकुरी प्रहार गरी हत्या गरेका छन् । हत्या गरेर फरार भएका श्रीप्रसादलाई जनकपुरधाम उप महानगरपालिका १ स्थित रेल्बे ट्रयाकबाट बुधबारै राति ९ बजेतिर पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

श्रीमति माइत भागेपछि श्रीप्रसादको आक्रोश

श्रीप्रसाद बिभिन्न पटक वैदेशिक रोजगारमा गएका व्यक्ति हुन् । त्यस क्रममा उनले भाई र बुहारीलाई पटक–पटक रकम पठाएका रहेछन् । पछि तिरिदिने शर्तमा भाई र बुहारीले रकम लिएको श्रीप्रसादले प्रहरी समक्ष बयान दिएका छन् ।

त्यो रकम माग्दा आजभोली भन्दै जाँदा श्रीप्रसादले धेरै दवाव दिएका थिए । ‘आफूलाई पुनः विदेश जान रकम समेत नभएको भन्दै उनले चाँडो रकम फिर्ता गर्न दवाव दिएका रहेछन्’ धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले भने, “सोही रकमको जोहो गर्न रानी बडहरीस्थित आफ्नी बहिनीको घर गएकी थिइन् ।”

रानीले बडहरीमै आउनु रुपैयाँ दिन्छु भनी जेठाजु श्रीप्रसादलाई बोलाएको र रकम नदिँदा खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ । ‘आफ्ना भाईबुहारीलाई दिएको रकम फिर्ता नगरेको झोंकमा श्रीप्रसादकी श्रीमति चार दिनअघि माइत गएपछि श्रीप्रसादलाई रिस उठेको देखिन्छ’ प्रहरी प्रमुख बस्नेतले भने, “रकम नदिँदा ज्यानै लिने हिसाबले श्रीप्रसाद खुकुरी बोकेरै बडहरी पुगेको खुलेको छ ।”

रकम नदिएपछि मार्ने उनको पूर्वयोजना नै रहेको प्रहरीले जनाएको छ । हत्या गरेर फरार भएका श्रीप्रसादलाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ पुष १०, बिहीबार १८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ