एक शिक्षकको हत्या अभियोगमा २९ जनालाई मृत्युदण्ड


काठमाडौं, १५ पुस । अफ्रिकी देश सुडानमा एक शिक्षकलाई दिएको यातना तथा उनको हत्यामा संलग्न भएको अभियोग लागेका २९ जनालाई मृत्युदण्डको सजाय हुने भएको छ ।

सुडानको अदालतले शिक्षकलाई यातना दिने तथा उनको हत्यामा संलग्न भएको अभियोगमा गुप्तचर निकायका २९ अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको हो । ३६ वर्षका शिक्षक अहमद अल–खैरको गएको फेब्रुअरीमा बन्धक रहेकै बेला मृत्यु भएको थियो ।

तत्कालीन राष्ट्रपति ओमार अल–बाशिरको सरकारविरुद्ध भएको प्रदर्शनमा सहभागी भएको अभियोगमा उनलाई पक्राउ गरिएको थियो । अल–बाशिरले गएको अप्रिलमा सत्ता छोडेका थिए, लगातारको प्रदर्शनपछि । प्रजातन्त्रवादी प्रदर्शनले अल–बाशिरलाई सत्ताबाट बाहिर गरेपछिको यो पहिलो कारवाही हो ।

न्यायाधीशले फैसला सुनाएपछि अल–खैरका भाइ साडसँग २९ जनालाई माफी दिनुहुन्छ कि रु भनेर सोधेका थिए । तर उनले सबैलाई मृत्युदण्ड नै दिनु पर्ने बताए । अभियुक्त तर्फका एक वकिलले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् ।

अल–खैरलाई सुडानको पूर्वी राज्य कासालामा रहेको डिटेन्सन सेन्टरमा गम्भीर कुटपिट र यातना दिएर हत्या भएको पाइएको अदालतले बताएको छ । पूर्व राष्ट्रपति अल–बाशिरले सुडानमा पुनः मृत्युदण्डको व्यवस्था सक्रिय गरेका थिए र सन् २०१८ मा दुईजनालाई मृत्युदण्ड दिइएको थियो ।

प्रकाशित : २०७६ पुष १५, मंगलवार ०९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ