लद्दाखमा भारत र चीनका सेनाबीच झडप, ३ भारतीय सैनिकको मृत्यु


काठमाडौं : भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भएको झडपमा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको भारतले पुष्टी गरेको छ ।

भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा सो घटना भएको हो । भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार गएराति चिनियाँ सेनासँग लामो समय झडप भएको थियो । इन्डिया टुडेका अनुसार झडपमा ढुंगामुढा प्रयोग गरिए पनि गोली हानाहान भने भएको थिएन ।

भारतीय सेनाका उच्च अधिकारीका अनुसार अहिले घटनास्थलमा दुवै देशका सैनिक अधिकारी पुगिसकेका छन् । झडपमा दुवैतर्फ मानवीय क्षति भएको भारतीय सेनाले बताए पनि चीनतर्फ के कति क्षति भयो भन्ने जानकारी भने उपलब्ध गराएको छैन ।

लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्तामा रहेको भारतीय सेनाले उल्लेख गरेको छ ।

केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकापछि विवाद चुलिएको भारतीय पक्षको दाबी छ । एजेन्सी

प्रकाशित : २०७७ असार २, मंगलवार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ