‘राम मन्दिर निर्माण हुनलागेको अवसरमा जनकपुरमा दिपावली मनाऔं’


सिबेन्द्र रोहिता/ जनकपुरधाम : भारतको अयोध्यामा लामो विवादपछि आज राम मन्दिर शिलान्यास भएको अवसरमा जनकपुरमा दिपावली मनाइने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आज भव्य समारोहबीच अयोध्यामा राम मन्दिरको शिलान्यास गरेका हुन् । राम मन्दिर बन्ने भएपछि विश्वभरका हिन्दु खुसी भएका छन् । विश्व हिन्दु परिषद् नेपालले पनि विज्ञप्ती जारी गरेर नेपालभर उत्सव मनाउन अपिल गरेका थिए ।

यस्तै जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले पनि जनकपुरधाममा दिपावली मनाउन नगरबासीसँग अपिल गरिसकेका छन् । उनी पनि शिलान्यास समारोहमा सहभागी हुन अयोध्या पुगेका हुन् । उनी राम मन्दिर निर्माणका लागि चाँदीका ५ वटा इटा र जनकपुरको माटो लिएर अयोध्या गएको बताइएको छ ।

जनता समाजवादी पार्टीका नेता संजय कुमार चौधरीले पनि अयोध्यामा राम मन्दिरको शिलान्यास भएको अवसरमा खुःशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई शुभकामना पठाएका हुन् ।

उनले जनकपुरधाम भगवान रामको ससुराली भएकाले यहाँ आज साँझ दिपावली मनाउन समेत नगरबासीसँग अपिल गरेका छन् । अयोध्यामा राम मन्दिर निर्माण सुरु हुनु विश्वका हिन्दुका लागि खुःशीको क्षण भएको उनको भनाई छ ।

प्रकाशित : २०७७ श्रावण २१, बुधबार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ