भ्रष्टाचार मुद्दामा पूर्व प्रधानमन्त्रीलाई १२ वर्षको जेल सजाय सुनाइयो


अर्बौ अमेरिकी डलर अपचलन भएको एउटा प्रकरणका कारण मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय सुनाइएको छ। भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये एउटाको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा रजाकलाई दोषी भएको ठहर गरेको हो ।

सन् २००९ मा उनी प्रधानमन्त्री भएका बेला स्थापना गरिएको वनएमडीबी नामक कोष अपचलन भएपछि उनीविरुद्ध मुद्दा परेको थियो । यो आर्थिक हिनामिनासम्बन्धी विश्वकै सबैभन्दा ठूलो काण्डमध्ये एउटा हो। मलेसियाली नागरिकहरूलाई सहयोग गर्न लागि सञ्चित अर्बौँ अमेरिकी डलर गायब भएको थियो ।

मलेसिया र अमेरिकाका अभियोजनकर्ताहरूका अनुसार उक्त रकम केही शक्तिशाली व्यक्तिहरूको खल्तीमा पुगेको थियो र त्यो सुविधासम्पन्न घरजग्गा, निजी विमान खरिद गर्नेदेखि हलीवुडमा चलचित्रमा लगानी गर्नसम्म खर्च गरिएको थियो ।

वनएमडीबी प्रकरण कम्तीमा छ देशमा फैलिएको छ । यो काण्डका पात्रहरू र कथा रहस्यात्मक धारावाहिक चलचित्रका जस्ता देखिन्छन् । यसमा पत्रकारदेखि अन्तर्राष्ट्रिय छवि भएका ख्यातिप्राप्त व्यक्तिहरू पनि संलग्न छन् । यो कथाको केन्द्रबिन्दुमा मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक छन् ।

उनी कुनै बेला निकै प्रख्यात थिए। उनले आफ्नो देशको आर्थिक विकासलाई अगाडि बढाउन सन् २००९ मा उक्त सार्वभौम कोष स्थापना गरे । तर नौ वर्षपछि त्यसैले उनी र उनको परिवारलाई अधोगतिमा पुर्‍याइदियो ।

उनी मलेसियाका दोस्रा प्रधानमन्त्री अब्दुल रजाकका जेठा छोरा हुन् । नजिब रजाकेल माध्यमिक तहको शिक्षा यूकेमा पूरा गरेका थिए । त्यसपछि उनले नटिङ्घम विश्वविद्यालयमा औद्योगिक अर्थशास्त्र पढे ।

उनको त्यो पृष्ठभूमि र मर्यादित इस्लामबारे उनका भनाइका कारण डेभिड क्यामरुन र बराक ओबामाजस्ता नेतासँग उनी स्वाभाविक रूपमा कुरा मिल्ने समकालीन व्यक्तित्व बने । उनलाई शक्तिको दुरुपयोगको अभियोगमा १२ वर्ष र सम्पत्ति शुद्धीकरण तथा विश्वासघातका छ अभियोगमा प्रत्येकमा १० वर्ष जेल सजाय सुनाइएको छ ।

‘म पक्कै पनि यो फैसलाँसग सन्तुष्ट छैन,’उनले भनेका छन् । यो पक्कै पनि संसारको अन्त्य होइन किनकि पुनरावेदनको प्रक्रिया पनि छ र हामी त्यसमा सफल हुने छौँ भन्ने कुरामा आशावादी छौँ, उनले थपे । बीबीसी

प्रकाशित : २०७७ भाद्र ८, सोमबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ