‘लाइभ’मै पेट्रोल खनाएर पूर्वपतिले आगो लगाएपछि चर्चित टिकटक स्टारको मृत्यु


एजेन्सी : नियमित ‘लाइभ’ गर्नेक्रममा नै एक व्यक्तिले पेट्रोल खनाएर आगो लगाइदिएपछि चीनका एक टिकटक स्टार महिलाको मृत्यु भएको छ । आगो पतिले नै लगाएको बिबिसीले जनाएको छ ।

लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक ‘डोइन’मा चर्चित थिइन् । उनलाई लाखौं मानिसले पछ्याउने गरेका थिए ।

पूर्व पतिले लगाएको आगोबाट उनको शरिरको ९० प्रतिशत भाग जलेको स्थानीय चिनियाँ संचारमाध्यमले जनाएको छ । आक्रमण भएको दुई सातापछि बुधबार उपचारका क्रममा उनको मृत्यु भएको छ ।

चीनको सिचुवान प्रान्तकी बासिन्दा ३० वर्षीय लामु टिकटकमा पोस्ट गर्ने ग्रामिण जीवन झल्काउने सुखद् टिकटक भिडिओका कारण टिकटक प्रयोगकर्तामाझ चर्चित रहँदै आएकी थिइन् ।

टिकटकका प्रयोगकर्ताहरूले बिना मेकअप भिडिओ बनाएकोमा उनको प्रशंसा गर्थे । उनको भिडिओमा लाखौंको संख्यामा ‘लाइक्स’हरू आउने गर्थ्यो । त्यहाँको स्थानीय प्रहरीले उनीमाथि सेप्टेम्बर १४ मा आक्रमण भएको जनाएको छ ।

आक्रमणपछि उनलाई उपचारका लागि सुरूमा स्थानीय अस्पताल लगियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सिचुवानको प्रान्तीय अस्पतालमा सारिएको थियो ।

घाइते भएकी उनको उपचारका लागि परिवारले प्रशंसकहरूसँग आर्थिक सहयोगका लागि आव्हान गरेर २४ घण्टामा एक मिलियन चिनियाँ युवान संकलन गरेको स्थानीय संचारमाध्यमले जनाएको छ । यद्दपी उनको मृत्यु भयो ।

चिनियाँ प्रहरीले घटनामा संलग्न भएको शंकामा लामुका पूर्वपतिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनाले चीनमा महिलाविरूद्ध हुने हिंसालाई पुनः सामाजिक संजालमा आलोचनाको प्रमुख विषय बनाएको छ ।

प्रकाशित : २०७७ आश्विन १६, शुक्रबार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ