राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको असिस्टेन्ट जस्तै भइन् : रामकुमारी झाँक्री


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई बोल्न कसैले रोक्न नसक्ने बताएकी छिन् ।

केही दिन अघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै बालकोट जान भनेकी थिइन् । यस्तै, सेतो साडीमा राजनीति गरेको आरोप लगाएकी थिइन् । त्यसपछि नेकपा केपी शर्मा ओली समूहका नेता कार्यकर्ताले उनको आलोचना गरेका थिए । उनीमाथि प्रहरी कारवाहीको समेत माग गरिएको थियो ।

त्यसैको जवाफमा आज राजधानीमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको सभामा झाँक्रीले सर्वसत्तावाद र संविधान र कानुनी राज्यको विरुद्धमा सेटिङ मिलाउनेहरु विरुद्ध बोल्न पाइने बताएकी हुन् ।

कार्यकारी प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई राष्ट्रपतिले ‘असिस्टेन्ट’ बनेर सघाएको आरोप लगाउँदै उनले भनिन्, ‘कार्यकारीको असिस्टेन्ट जस्तै भइन् राष्ट्रपति । राष्ट्रपति पद होइन संस्था हो । राष्ट्रपति पद हाम्रो रगत पसिनाको हो । त्यो संस्थामा बसेकी भण्डारी निशंकुश्ताको साथमा भइन् । त्यस्ता विरुद्ध बोल्न पाइन्छ । यहाँ निर महिला अस्मिताको कुरा हुँदैन । बोल्न पाइन्छ ।’

उनले ओली कागजी बादशाह भएको भन्दै छिट्टै उनको पतन हुने समेत दाबी गरिन् । भनिन्, ‘हामी बोल्न जन्मिएका हौं । मानव सागरले भन्छन् ओली कागजी बादशाह हुन् । बादशाहले आफ्नो कदलाई घटाउँदै गएपछि राज्यको दोहन गर्छ । बुख्याचाँ बनाउँछ । ओलीले त्यही गरेका छन् ।’

झाँक्रीले ओलीलाई तानाशाह र अहंकारी प्रधानमन्त्री भन्दै ओली प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन् । ‘हामी यहाँ ओली व्यक्तिको कुरा गरिरहेका छैनौं । ओली प्रवृत्ति र संस्कृति विरुद्ध उभिएका छौं। अब ओली प्रवृत्ति नदोहोरिने गरी लडाइँ हुन्छु’, उनले भनिन् ।

पहिलो पोष्ट

प्रकाशित : २०७७ माघ २८, बुधबार १७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ