जनकपुरधाम : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भएपछि देशका प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा डा.चन्द्रमोहन यादवसित गठबन्धन बनाएका छन् ।
धनुषा जिल्लामा निधिका निकटहरुले साथ छाडेपछि उनी यादवलाई विश्वासमा लिने प्रयास गरेका छन् । नेकाँको १३ औं महाधिवेशनमा डा. यादव महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।
उच्च स्रोतहरुका अनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा पार्न निधिले पूर्व राष्ट्रपति यादवको निवासमा क्षेत्रिय सभापति योगेन्द्र पजियार सित तालमेल गरेका हुन् ।
केन्द्रिय सदस्य एवं धनुषा क्षेत्र नम्बर ४ का प्रभावशाली नेता महेन्द्र यादवले सभापति शेरबहादुर देउवाको पक्षमा खुलेपछि नेता निधिले क्षेत्रिय सभापति पजियार र यादवसित तालमेल गरेका छन् ।
नेपाली काँग्रेसको आन्तरिल गुटमा यादव कोइराला पक्ष र निधि देउवा पक्षमा रहँदै आएका थिए । निधि निकटका आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, समिर घिमिरे लगायतले साथ छाडेका छन् । रामकृष्ण यादव पहिलेदेखि नै निधिलाई छाडेर रामचन्द्र पौडेलको पक्षमा लागेका हुन् ।