जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०का असन्तुष्ट नेताहरु केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको रुखो व्यवहारबाट निराश भएका छन् । काठमाण्डुस्थित केन्द्रीय कार्यालयमा तीन दिन धर्ना दिए पछि चौथो दिन बुधवार ठाकुर निवास पुगेका असन्तुष्ट नेताहरु झन् निराश भएर फर्केका हुन् ।
एकै जनालाई कयौं जिम्मेवारी दिने निर्णय प्रति असन्तुष्टि जनाएका नेताहरुलाई ठाकुरले निर्णय नसच्चिने जनाउँदै त्यसको विरोधले कुनै फरक नपर्ने बताए । ठाकुरले प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनल र सचिवमा रामविनोद चौधरीलाई मनोनित गरेका छन् । त्यसैगरी उनले १२ जिल्लाका अध्यक्ष समेत चयन गरेका छन् ।
ठाकुरले एकपक्षीय रुपमा अध्यक्षहरु मनोनयन गरेपछि असन्तुष्ट भएका नेताहरुले निर्णय सच्चयाउन ठाकुरलाई भेट्न काठमाण्डु पुगेका थिए । तर ठाकुर आफ्नो निर्णयमा दृढ रहेको जनाएपछि असन्तुष्ट नेताहरुले प्रदेश र जिल्ला कमिटी सञ्चालन गर्न नदिने धम्की दिएर फर्केका छन् । धम्की दिएपनि अध्यक्ष ठाकुरले उनीहरुलाई वेवास्ता गरेको प्रत्यक्षदर्शीले बताए ।
एउटै व्यक्तिलाई कयौं पद दिएको, पार्टीमा सक्षम र योग्य नेताहरुलाई उपेक्षा गरी एकलौटी ढंगले गरिएको निर्णय सच्चयाउन आग्रह गर्दा अध्यक्ष ठाकुरले वेवास्ता गरेको नेता सञ्जय सिंहले लगाए ।‘हामीले आफ्ना असन्तुष्टि राख्यौं’ उनले भने, तर अध्यक्षजीले निर्णय नसच्चिने अडानमा रहनु भयो ।
‘महतो, भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्लाजी लगायतका नेताहरुसित छलफल गरी जिल्ला र प्रदेशमा अध्यक्ष चयन गरेको छु ’अध्यक्ष ठाकुरको भनाई उल्लेख गर्दै सिंहले भने, संगठनको गतिविधिलाई अगाडि बढाउन अध्यक्ष बनाउनु बाध्यता रहेको थियो । प्रदेश २ का अध्यक्ष बनाइएका जितेन्द्र सोनल बारा जिल्लाका संयोजक, कार्यकारिणी समितिका सदस्य, संसदीय दलका नेता समेत रहेका छन् ।
असन्तुष्ट समूहको संरक्षण वृषेशचन्द्र लालले गरिरहेको आरोप संस्थापन पक्षको छ । ठाकुरले विगतमा झैं पार्टीको विधान र मान्यता विपरित एकलौटी निर्णय गर्न थालेको आरोप लगाउँदै पार्टीमा अन्तर संघर्षलाई चर्काउने सिंहले बताए । ठाकुर निकटकै कयौं नेताहरु अहिले उनी विरुद्ध उभिएका छन् ।
पार्टीमा अन्तुष्टि बढन थालेदेखि ठाकुर धनुषा जिल्लामा आएका छैनन् ।धनुषाका अध्यक्ष चुनिएका परमेश्वर साहले जिल्ला समितिलाई विस्तार गरेका छन् । त्यसबाट जिल्लामा असन्तुष्टि झन् चुलिएको छ । ठाकुरको निर्णयबाट वरिष्ठ नेताहरु राजन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायतका नेताहरु असन्तुष्ट बनेका छन् ।
ठाकुरले कार्यकारिणी समितिको बैठक बोलाएका छैनन् । संसदीय दलको नेता समेत हाल सम्म चयन हुन सकेको छैन् । स्रोतहरुका अनुसार ठाकुरको भित्री रुपमा महतोले विरोध गरे पनि उनी संसदीय दलको नेता बन्ने चाहनाका कारण खुल्न सकेका छैनन् ।