टुडेखोज, वीरगञ्ज । प्रदेश २ को राजधानी वीरगञ्जलाई तोक्नुपर्ने भन्दै वीरगञ्जमा प्रदर्शन सुरु भएको छ । आज वीरगञ्जका जनताले खबरदारी जुलुस प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध समेत प्रदर्शन गरे । मधेश आन्दोलनलाई सार्थक बनाउन वीरगञ्जले खेलेको भूमिका र सहिदहरुको बलिदानीको मूल्यांकन गरेर वीरगञ्जलाई प्रदेश २ को राजधानी कायम गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
वीरगञ्ज राजधानी बनाउने विपक्षमा जाने साँसदहरुलाई देखाइदिने चेतावनी समेत प्रदर्शनमा सहभागी यूवाहरुले दिएका छन् । मुख्यमन्त्री मुर्दावाद, मुख्यमन्त्री चाहिँदैन, वीरगञ्जलाई बेच्न पाइँदैन जस्ता नारा समेत प्रदर्शनकारीले लगाएका छन् ।
अहिले जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी हो । जनकपुरधामलाई नै स्थायी राजधानी बनाउन सत्तारुढ जसपा, नेपाली काँग्रेस, नेकपा एमाले र प्रतिपक्षी दल लोसपा तथा नेकपा एकिकृत समाजावदी समेत सहमत देखिएका छन् । प्रदेशको नामाकरणमा मात्र विवाद चलिरहेको छ ।