जनकपुरधाम । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादीको १० वर्षे जनयुद्धको क्रममा शहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही ३ लाख दिने तयारी गरेको छ ।
आन्तरिक मामिला तथा संचार मन्त्रालय अन्तर्गत रहेका मधेशी शहिद प्रतिष्ठानले आगामी फागुन १ गते माओवादी जनयुद्धका क्रममा मधेश प्रदेशबाट शहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई पहिलो चरणमा जनही १ लाख र दोस्रो चरणमा २ लाख गरी जम्मा ३ लाख दिने निर्णय गरिएको छ ।
आन्तरिक मामिला तथा संचार मन्त्री तथा मधेश शहिद प्रतिष्ठानका अध्यक्ष भरत साहले तत्काल पहिलो चरणमा जनही १ लाख दिने निर्णय भएको बताए । त्यसका लागि मन्त्रालयले प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेखि जनयुद्धका क्रममा शहिद भएका तथा ज्यान गुमाएका यकिन तथ्याङक पठाउन पत्राचार गरेको मन्त्रालयका एक कर्मचारीले बताए ।
ती कर्मचारीले भने,‘ अहिले सम्म सबै जिल्लाबाट जनयुद्धका शहिद तथा ज्यान गुमाएकाहरुको तथ्याङक प्राप्त हुन सकेको छैन । तर हाम्रो अनुमान मधेश प्रदेशबाट करिव ६ सय त्यस्ता व्यक्तिहरु छन् जो जनयुद्धका क्रममा शहिद र ज्यान गुमाएका छन् ।’ मधेश आन्दोलनका क्रममा शहिद भएका परिवारजनले मधेश प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवसको अवसरमा ३ लाखको दरले अनुदान दिएको थियो ।
त्यस्तै, जनयुद्धका शहिद भएका परिवारजनलाई मधेश सरकारले १ लाख दिने तयारी गरेको उनले बताए । जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमको आयोजना गरी शहिद परिवारजनलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए ।