जनकपुरधाम । मधेस सरकारले सप्तरीमा यातायात व्यवस्था कार्यालय खोल्ने निर्णय गरेको छ ।
सप्तरी सदरमुकाम राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गरिने सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बताए । उनका अनुसार सिरहाको लहानमा रहेको यातायाता व्यवस्था कार्यालयको सेवालाई विस्तार गर्दै राजविराजमा खोलिने निर्णय भएको हो ।
शुरुमा राजविराजमै रहेको यातायात व्यवस्था कार्यालय दुई दशकअघि लहानमा सारिएको थियो । त्यस बेलादेखि सप्तरीबासीलाई यातायात सम्बन्धी कामका लागि लहान धाउनुपरिरहेको थियो ।
प्रबक्ता साहका अनुसार कार्यालय सम्बन्धी प्रकृया चाँडै पूरा गरेर राजविराजमा कार्यालय स्थापना हुनेछ । राजविराजमा यातायात कार्यालय खोल्ने निर्णयपछि त्यहाँका बासिन्दा खुशी भएका छन् ।