पेट्रोल पम्पमा सेना खटाइयो, यस्तो छ कारण


श्रीलंकामा तेलको अभाव भएर हजारौं गाडी पेट्रोल पम्पमा लाइन लाग्न थालेपछि व्यवस्था कायम गर्न सेना खटाइएको छ ।

विगत ७० वर्षमा सबभन्दा खराब आर्थिक संकटमा परेको श्रीलंकामा विद्युत् आपूर्ति काटिएको छ भने खाद्यान्न र खाना पकाउने ग्यासको समेत अभाव छ ।

आक्रोशित भीडले राजधानी कोलम्बोको प्रमुख सडक रोकेपछि सेना तैनाथ गरिएको हो । मट्टितेल किन्न नपाएपछि रिसाएका मानिसले सडकमा धर्ना दिएर आवागमन अवरुद्ध गरेका थिए ।

तेलको लाइन बस्दा लाइन मिचेको भन्दै एकजना व्यक्तिले अर्कालाई चक्कु प्रहार गरेर हत्या गरेपछि सेना तैनाथ गर्नुपर्ने स्थिति आएको हो ।

‘लाइन लम्बिँदै गएपछि मानिसहरू रिसाउन थालेका छन्,’ श्रीलंकाका एक शीर्ष रक्षा अधिकारीले नाम नखुलाउने शर्तमा एएफपी समाचार संस्थालाई बताए ।

‘प्रहरीलाई सहयोगका लागि सेना बोलाउने निर्णय लिइएको छ । दंगा हुन नदिन यसो गरिएको हो ।’

शनिवारदेखि अहिलेसम्म तेलको लाइनमा बस्दा तीनजना वृद्धवृद्धाको ज्यान गइसकेको छ । एजेन्सी

प्रकाशित : २०७८ चैत्र ९, बुधबार १०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ