फिफा विश्वकप २०२२: अमेरिका छनोट, मेक्सिकोको स्थान पनि पक्का


अमेरिका र मेक्सिको फिफा विश्वकप २०२२ का लागि छनोट भएका छन् । उत्तर अमेरिका छनोटको अन्तिम खेलमा कोस्टारिकासँग २-० गोलले पराजित हुनुका बावजुद अमेरिका विश्वकपमा छनोट हुन सफल भएको हो ।

यता मेक्सिकोले अन्तिम खेलमा एल साल्भाडोरलाई २-० गोलले पराजित गरेर विश्वकपमा स्थान बनायो । उत्तर अमेरिका छनोटबाट यसअघि क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेको छ ।

यता कोस्टारिकाले भने अन्तरमहादेशीय प्लेअफ खेल्ने भएको छ । योसँगै विश्वकपमा २९ टिमले स्थान पक्का गरेका छन् । अब युरोपबाट एक टिम र अन्तरमहादेशीय प्लेअफबाट दुई टिम विश्वकपमा छनोट हुनेछन् ।

अन्तरमहादेशीय प्लेअफ आगामी जुनमा हुनेछ । अन्तरमहादेशीय प्लेअफका लागि ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड छनोट भएको छ । न्युजिल्यान्डले ओसियानाको फाइनलमा सोलोमन आइल्यान्डलाई ५-० गोलले हरायो ।

२९ टिम छनोट
२०२२ फिफा विश्वकप आगामी नोभेम्बर २१ देखि कतारमा हुँदैछ। १८ डिसेम्बरसम्म चल्ने प्रतियोगितामा ३२ टिमले भाग लिनेछन् । ५ शहरका ८ रंगशालामा हुने प्रतियोगिताका लागि अहलेसम्म २९ टिमले टिकट पक्का गरिसकेका छन् । जसमा आयोजक कतार आयोजकको हैसियतमा छनोट भएको थियो ।

युरोपबाट १२ टिमले विश्वकपमा स्थान बनाइसकेका छन् । रसिया र युक्रेनबीचको युद्धका कारण युरोपबाट छनोट हुने एक टिमको टुंगो लाग्न बाँकी छ । एसियाबाट चार टिमले विश्वकपमा स्थान बनाइसकेका छन् । अस्ट्रेलिया र युएईबीच चौथो चरणमा भि- डन्त हुँदैछ । खेलको विजेताले अन्तरमहादेशीय प्लेअफमा स्थान पक्का गर्नेछ ।

यस्तै दक्षिण अमेरिकाबाट पनि चार टिम विश्वकपमा पुगेका छन् । छनोटमा पाँचौ भएको पेरू अन्तरमहादेशीय प्लेअफमा पुगेको छ । अफ्रिकाको विश्वकप छनोट सकिएको छ । अफ्रिकाबाट विश्वकपमा छनोट हुने पाँच टिमको टुंगो मंगलबार राति लागेको थियो ।

उत्तर अमेरिकाबाट क्यानडा, अमेरिका र मेक्सिकोले विश्वकपमा स्थान पक्का गरेका छन्। चौथो भएको कोस्टारिकाले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । ओसियाना क्षेत्रको फाइनल जितेको न्युजिल्यान्डले पनि अन्तरमहादेशीय प्लेअफ खेल्नेछ ।

विश्वकपमा छनोट भएका टिम
आयोजक – कतार
युरोप (१३)- जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड, (एक टिम छनोट हुन बाँकी)
दक्षिण अमेरिका (४ वा ५) – ब्राजिल, अर्जेन्टिना, इक्वेइडर, उरूग्वे
एसिया (४ वा ५) – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया
अफ्रिका (५) – घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरून
उत्तर अमेरिका (३ वा ४) – क्यानडा, मेक्सिको, अमेरिका
ओसियाना (१ वा ०)

अब छनोट हुन तीन टिम बाँकी
युरोपबाट एक टिम – (वेल्स भर्सेस युक्रेनरस्कटल्यान्ड)
एसिया र दक्षिण अमेरिका प्लेअफ एक टिम – अस्ट्रेलियारयुएई भर्सेस पेरू
उत्तर अमेरिका र ओसियाना प्लेअफ एक टिम – कोस्टारिका भर्सेस न्युजिल्यान्ड
– सेतोपाटी

प्रकाशित : २०७८ चैत्र १७, बिहीबार ११:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ