क्यानाडाले विद्युतीय गाडीको ब्याट्री र कच्चापदार्थ उत्पादन गर्न २ बिलियन डलर खर्च गर्ने


अन्टारियो । क्यानाडामा विद्युतीय सवारी साधन (इभी) को ब्याट्री आपूर्ति शृंखला, महत्वपूर्ण खनिज उत्पादनलगायत क्षेत्रका लागि रणनीति बनाउन २ बिलियन क्यानेडीयन डलर खर्च गर्ने भएको छ ।

क्यानाडाको संघीय बजेटमा यसको व्यवस्था गर्न लागिएको यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको संघीय सरकारले बिहीबार बजेट घोषणा गर्ने तयारी गरेको छ ।

बजेटमा म्याग्नेसियम, कोबाल्ट, लिथियमलगायत महत्वपूर्ण खनिज प्रशोधन, उत्पादन बढाउनका लागि लगानी गर्ने कार्यक्रम आउने जनाइएको छ । सरकारी अधिकारीहरुले आगामी वर्ष उक्त लगानी थप्दै लैजाने योजना रहेको जनाएका छन् ।

क्यानाडा सरकारले गत महिना विद्युतीय कार र ब्याट्रीको सामग्री निर्माण गर्ने घोषणा गरेको थियो । प्राकृतिक संशाधन सचिव जोनाथन विल्किन्सनले केही विशिष्ट परियोजनाहरुमा काम गर्न लागिएको सञ्चार माध्यमलाई बताएका छन् ।

क्यानाडामा महत्वपूर्ण खनिज भण्डार प्रशस्त मात्रामा उपलब्ध छ । खनिज प्रशोधनलाई बढाउने प्रक्रिया सुरु हुँदा यस क्षेत्रमा हजारौं रोजगारी सिर्जना हुने जनाइएको छ । त्यसले गर्दा यहाँको अर्थव्यवस्था सुधारमा मद्दत पुग्ने उल्लेख गरिएको छ ।

सरकारले विद्युतीय कार र ब्याट्रीमा उपयोग हुने कच्चा पदार्थ उत्पादन तीव्र पार्ने आवश्यकतालाई लिएर कतिपय कम्पनीहरुसँग छलफल गरिसकेको जनाएको छ । क्यानाडाको अन्टारियो प्रान्त भौगोलिक हिसाबले अमेरिकाको मिसिगन र ओहायोसँग नजिक पर्छ ।

ती स्थानमा अमेरिकी सवारी साधन निर्माता र जनरल मोटर्स कर्पोरेसन छन् । फोर्ड मोटर कम्पनी र स्टेलन्टिसले क्यानाडाका प्रान्तमा रहेका कारखानाहरुमा विद्युतीय कार बनाउने योजनाको घोषणा गरिसकेका छन् ।

‘क्यानेडीयन माइनिङ एसोसिएसन’ को अर्थशास्त्र र उत्तरी मामलासम्बन्धी उपाध्यक्ष ब्रान्डन मार्शलले त्यस्तो परियोजना सञ्चालन गर्नका लागि अनुसन्धान आवश्यक भएको बताएका छन्।

विश्व बैंकको अनुमानअनुसार लिथियम र कोबाल्टलगायत ब्याट्रीका लागि आवश्यक धातुको माग २०५० सम्ममा करिब ५०० प्रतिशतले बढ्ने छ ।

प्रकाशित : २०७८ चैत्र २४, बिहीबार ०८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ