ओलीको टिप्पणीः माओवादी जुकाजस्तो, कहिले कांग्रेसको रगत चुस्छ कहिले एमालेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई ‘जुका’ को संज्ञा दिएका छन् ।

कहिले कांग्रेस र कहिले एमालेसँग टाँस्सिएर माओवादीले रगत चुस्ने गरेको उनले टिप्पणी गरे । ललितपुरमा आज आयोजित जनसभालाई सम्वोधन गर्ने क्रममा ओलीले माओवादीमाथि कटाक्षको वर्षा गरेका थिए ।

उनले भने, ‘जुकाजसरी यसको जिउमा टाँसिदा रगत पिउन पाइन्छ कि भनेर कहिले कांग्रेसँग मिल्छ, कहिले एमालेसँग । अहिले चाहिँ छोरीलाई भोट नमिल्ने भएकाले एमालेसँग टाँस्सिन आइहाल्न सकेको छैन ।’

माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि एमालेलाई देखाएर कांग्रेसलाई धम्क्याइरहेको ओलीले बताए । ‘तपाईंहरु नमिल्ने भए बालकोट गएर ढोकैमा बस्छु भन्दैछन् । भित्र छिराउँछन् कि छिराउँदैनन् तर ढोकामा भए पनि बस्छु भनेर धम्याएछन्,’ ओलीले भने ।

माओवादीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक नगरेको विषयलाई लिएर पनि ओलीले कटाक्ष गरे । उनले भने, ‘माओवादीलाई किन चाहियो घोषणापत्र ? अरुको घरमा पाहुना लाग्ने बानी परेकाले आफ्नो घरमा किचन बनाइरहनुपर्छ र ? कहिले यसको घरमा गएर खायो, कहिले त्यसको घरमा ।’

माओवादी केन्द्र अहिले सुराहीको बिर्कोजस्तो भएको पनि ओलीले बताए । उनले भने, ‘आधाभन्दा बढी कार्यकर्ता एमालेमा आइसके । अलिअलि बाँकी भएका पनि आउँछन् । माअ‍ोवादी केन्द्र अब सुराहीको बिर्कोजस्तो भयो । भित्र रित्तो छ ।’

उनले ६४ सालको चुनावमा १२० सिट जितेको माओवादी अहिले छोरी जिताउनका लागि कांग्रेसमा भर परेको बताए । ‘के अवस्था भयो माओवादीको रु हिजो २४० मध्ये १२० सिट जितेको थियो । आज एउटा छोरी जिताउन कांग्रेसको दौराको फेर समाएर छोड्दै छोड्दैन ।मेरी छोरी जिताउनैपर्छ भनेर पछि लाग्या छ लाग्या छ,’ ओलीले भने ।

प्रकाशित : 9 May 2022 5:39 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !