श्रीलंकाका निवर्तमान प्रधानमन्त्री सहित ५० बढी नेताका घरमा आगजनी


काठमाडौं । श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ ।

कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए । तर पनि श्रीलंकाका नागरिकको आक्रोश थामिएको छैन ।

उनीहरुले मंगलबार राजापाक्षेको एक घरलाई जलाइदिएका छन् । सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरुलाई सो घरबाट उद्धार गरेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस र हवाई फा यर गरेका थिए ।

प्रधानमन्त्री राजापाक्षे र उनको परिवारका सदस्यहरुलाई सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा लगेर राखेको बीबीसीको समाचारमा उल्लेख छ ।

मिडिया रिपोर्टका अनुसार सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरुको घरमा आगजनी भएको छ । उनीहरुले पनि अन्यत्र शरण लिएर बसिरहेको बताइएको छ ।

श्रीलंकामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी छ । मंगलबार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरु भएका बीबीसीले जनाएको छ ।

सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीले गाडीहरुमा आगजनी र तोड फोड गरेका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेको घर अगाडि ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन् । उनीहरुले राष्ट्रपतिको पनि राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित : २०७९ बैशाख २८, बुधबार ०६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ